काठमाडौ । सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच सोमबार राति सहमति भएसंगै देशभर रोकिएका सार्वजनिक सवारी साधन चल्ने भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा रातभर चलेको तेस्रो चरणको वार्ताले सहमति निकाल्दै आन्दोलन अन्त्यतर्फ मोडिएको हो।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरकाअनुसार संघीय सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली तत्काल स्थगन गर्न पत्राचार गर्ने निर्णय लिएको छ।
संघ र प्रदेश सरकारले प्रक्रियागत काम फास्ट ट्र्याकबाट अघि बढाउने प्रतिबद्धता जनाएपछि मंगलबार अपराह्नदेखि यातायात सुचारु हुने अध्यक्ष स्वारले संकेत गरेका छन् ।
सरकारी वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तले गण्डकी प्रदेशले रातो नम्बर प्लेटलाई कालो प्लेटसरह मान्यता दिने निर्देशिका स्थगित गर्न सहमति भएको पुष्टि गरे । उनका अनुसार संघीय कानुन नबनेको कारण प्रदेशले आ-आफ्नो आवश्यकताअनुसार निर्देशिका ल्याउनु बाध्यता थियो। तर, अब छिट्टै छाता ऐन बन्ने भएकाले यस्तो द्विविधा हट्ने उनले बताए।
गण्डकी प्रदेश सरकारको राइड सेयरिङ निर्देशिकाविरुद्ध सात बुँदे मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरूले सोमबारदेखि देशभर सार्वजनिक सवारी ठप्प पारेका छन् । अब नियमावली स्थगन भएपछि सार्वजनिक यातायात पुनः सुचारु हुने अपेक्षा गरिएको छ।
संघले सहमति जनाएपनि गण्डकी प्रदेश सरकारले नियमावली स्थगित गर्ने प्रक्रिया शुरु गर्न आन्दोलनकारीहरुले दबाब दिइरहेक छन् ।