सरुवा रोगबाट बच्न माओवादी एमालेसंग नमिल्ने, जेठ २० बाट उपत्यका जागरण अभियान सुरु गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुर क्षेत्र सधैं परिवर्तनको पक्षमा उभिँदै आएको बताएका छन्।

माओवादी केन्द्र कीर्तिपुर नगर समितिद्वारा आयोजित पिकनिक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कीर्तिपुरले आफूलाई गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनाएको उल्लेख गरेका हुन् ।

उनले भने, “कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ, न त मनमा शान्ति हुन्छ। यसपटक डा. शिव शरण महर्जनलाई जिताउन सकेनौं, तर तेस्रोबाट दोस्रो स्थानमा पुर्यायौं। निराश छैनौं, अब केही नयाँ गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं।”

प्रचण्डले माओवादी केन्द्र सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा काम गरेकाले दलाल र बिचौलिया आत्तिएर सरकारविरुद्ध लागेको बताए। उनका अनुसार, जनताले माओवादीप्रति भरोसा गर्न थालेका थिए, तर त्यो कुरा बिचौलियालाई नपचेकाले अपारदर्शी ढंगले सरकारबाट हटाइएको हो।

सरकारबाट बाहिरिएपछि माओवादीले आत्मसमिक्षा गर्दै देशभर जनसंगठन अभियान चलाएको जानकारी दिँदै उनले तराईमा हुलाकी मार्ग, पहाडमा मध्यपहाडी लोकमार्ग लगायतका अभियान सञ्चालन भइरहेको बताए।

उनले भने, “हामी जनतासँगै खायौं, सँगै बस्यौं, सहिद र बेपत्ता परिवारसँग आत्मीयता बनायौं। माओवादीप्रति विश्वास र भरोसा जनतामा फेरि बढ्दै गएको छ।”

प्रचण्डका अनुसार तराईमा झन्डै करोड जनतासँग प्रत्यक्ष संवाद भएको छ र ८–९ लाख मानिसले पार्टीमा प्रवेश गरिसकेका छन्। हाल दुई पार्टीसँग एकता भइसकेको र आगामी दिनमा थप तीन पार्टीसँग निषर्त एकता गरिने बताए।

उनले जेठ २० बाट उपत्यका जागरण अभियान सुरु हुने र नेवार समुदायलाई प्राथमिकता दिँदै पोखराबाट सुरु भएको मध्यपहाडी लोकमार्ग अभियान जेठ २१ पछि सारिएको पनि जनाए।

प्रचण्डले भने, “समाजवादको भ्रूण नेवार समुदायमै छ। त्यसैले समाजवादी संस्कृतिको खोजी नेपाली जाति, संस्कृति र परम्परामै गर्नुपर्छ।”

उनले कांग्रेस र एमालेसँग सहकार्य गर्दा आफूहरूमा पनि ती पार्टीको “सरुवा रोग” सरेको भन्दै अब सहकार्य नगर्ने बताए। “अब जनताको घरघरमा गएर त्यसको उपचार गर्छौं,” उनले भने।

उनको भनाइमा, माओवादी केन्द्र व्यवहारमै रूपान्तरण हुँदै जनताको विश्वास जित्ने दिशामा अघि बढिरहेको छ।