भक्तपुरमा शहीद र बेपत्ता परिवारसंग माओवादीको गणतन्त्र दिवस,प्रजिअ पूर्वाग्रही भएको आरोप

भक्तपुर । गणतन्त्र ल्याउने लडाईमा आफ्ना एक दर्जन नेताकार्यकर्ता गुमाएको नेकपा (माओवादी केन्द्र) भक्तपुरले विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाएको छ । माओवादीले यसलाई उत्सव र संस्मरण दुवै स्वरुपमा मनाएको हो ।

माओवादी केन्द्रको भक्तपुर नगर समितिले शहीद र बेपता परिवारसंग बेदना साटेर गणतन्त्र दिवस मनाएको नगर अध्यक्ष राकेश सुवालले जनाएका छन् । बिहीवार उनीहरु तत्कालीन संविधान सभा सदस्य समेत रहेकी नगर इन्चार्ज उमा कपालीको नेतृत्वमा शहीद तथा बेपत्ता परिवारका घर-घरमा पुगेका थिए ।

माओवादीले शुरु गरेको तत्कालीन जनयुद्धमा शहादत प्राप्त गर्ने पुन्यराम आचाजू र तत्कालीन राज्यसत्ताले कब्जामा लिएर बेपत्ता बनाएका सत्यनारायण प्रजापति, बद्री नारायण त्वायना र गंगाराम श्रेष्ठको घरमा पुगी माओवादी नेताकार्यकर्ताले उनीहरुको इतिहास र योगदान स्मरण गरेका थिए ।

सो अवसरमा परिवारजनले आफन्त गुमाउनुपर्दाको पिडा सुनाउँदै आफ्ना आफन्त शहीद र बेपत्ता भएर आएको गणतन्त्र जनताको गणतन्त्र बन्न नसकेको बताए । शहिद र बेपत्ताले देखेको गणतन्त्रको सपना साकार भएपनि सुशासन र समृद्धि  नआएको प्रति उनीहरुले असन्तुष्टी व्यक्त गरेका थिए ।

संविधान सभा सदस्य एवं नगर इन्चार्ज उमा कपालीले गणतन्त्रलाई बद्नाम गर्न केही गणतन्त्रवादी भनिने दलहरु नै लागिरहेकाले अपेक्षा अनुरुप जनताको पक्षमा काम हुन नसकेको स्पष्टीकरण दिएकी थिइन् ।

उनले आफूहरु र आफ्नो पार्टीले शहीद र बेपत्ता पारिएकाहरुको उच्च मूल्यांकन गरेको र उनीहरुको सपनालाई नै मार्गदर्शनको रुपमा लिएर अघि बढिरहेको बताएकी थिइन् ।

सो अवसरमा शहीद तथा बेपत्ता परिवारका सदस्यहरुले आफ्ना व्यक्तिगत माग भने केही पनि राखेनन् । उनीहरुको चिन्ता देश र जनताप्रति मात्र देखिन्थ्यो ।

बरु, उनीहरुले जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधवार शहिद र बेपत्ता सम्मानमा पूर्वाग्रह राखी आफूहरुलाई नबोलाएको गुनासो गरे ।

भक्तपुरबाट बेपत्ता पारिएका बद्री नारायण त्वायनाका भाइ नारायण त्वायानाले प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले पूर्वाग्रही भएर आफूहरुलाई सम्मानमा सहभागी नगराएको आरोप लगाए ।

गणतन्त्र दिवसको अवसर पारेर प्रमुख जिल्ला अधिकारी अर्यालको अध्यक्षता र जिल्ला समन्वय समिति प्रमुख ईश्वरबहादुर थापाको प्रमुख आतिथ्यतामा भक्तपुरका शहीद र बेपत्ता परिवार तथा आन्दोलनमा घाइते र अपाङ्गता भएकाहरुलाई सम्मान कार्यक्रम गरिएको थियो ।

सो कार्यक्रममा गणतन्त्रवादी भएकै कारण शहीद, बेपत्ता बनाइएका जनयुद्धकालीन शहीद र बेपत्ता परिवारलाई पूर्वाग्रही भएर नबोलाइएको पिडित पक्षको आरोप छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक सिडिओ एवं सूचना अधिकारी चिरन्जीवी भण्डारीले भने सरकारी रेकर्ड हेरेरै आफूहरुले सम्मान गरेको प्रतिक्रिया दिएका छन् ।”हामीले एक शहीद परिवार, २ बेपत्ता परिवार र ८ घाइते र अपाङ्गता भएकालाई सम्मान गरेका छौं ।’ उनले भने ।

माओवादी केन्द्रका भक्तपुर जिल्ला संयोजक सुनिल गोठे बासुले भने आफ्नो पार्टीको तर्फबाट भक्तपुर जिल्लाभर ७ जनाले गणतन्त्रका लागि शहादत प्राप्त गरेका र तत्कालीन राज्यले ५ जनालाई बेपत्ता पारिरहेको जानकारी गराए ।

”उहाँहरु सबैजनालाई राज्यको डकुमेन्टले समेत शहीद र बेपत्ता स्वीकार गरेको छ ।” उनले भने । संयोजक गोठेले जिप्रकाको सम्मान कार्यक्रमप्रति अनभिज्ञता प्रकट गरेका छन् ।

यसैबीच, गणतन्त्र दिवसको अवसरमै भक्तपुरको दरवार क्षेत्रस्थित त:मारीमा माओवादी केन्द्रले दीप प्रज्जलन गरेको छ । पूर्व प्रदेश सभा सदस्य एवं पार्टी केन्द्रीय सदस्य प्रतिमा श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न दीप प्रज्जलन कार्यक्रममा गणतन्त्र पक्षीय नाराहरु लगाइनुका साथै एक आपसमा शुभकामना आदानप्रदान गरिएको थियो ।