काठमाडौँ । काठमाडौंस्थित पाकिस्तान राजदूतावासले आयोजना गरेको १२ औं निबन्ध लेखन प्रतियोगिता तथा ८औँ वार्षिक वक्तृत्वकला प्रतियोगितामा बिजेताहरुलाई बिहीबार पुरस्कार बितरण गरिएको छ ।
कार्यक्रममा मधेसी आयोगका संस्थापक प्रमुख आयुक्त डा. विजयकुमार दत्त प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
यस वर्षको निबन्ध प्रतियोगिताको विषय “कृत्रिम बुद्धिमत्ता र मानवताको भविष्य” रहेको थियो।
उक्त प्रतियोगितामा विश्व निकेतन माध्यमिक विद्यालयका प्रतीक पोखरेल प्रथम, आयुष शाह द्वितीय र सेंट जोसेफ इङ्लिस एकेडेमीका सञ्जोक मगर तृतीय भएका छन्।
उनीहरूले क्रमशः स्वर्ण, रजत र कांस्य पदकका साथै सम्मानपत्र र नगद पुरस्कार प्राप्त गरे। साथै, अन्य दस प्रतिस्पर्धीहरूलाई पनि विशेष नगद पुरस्कार प्रदान गरिएको थियो।
भाषण प्रतियोगिताको विषय “किताब वा प्रविधि: सिकाइको भविष्य” रहेको थियो। उक्त प्रतिस्पर्धामा पोखरास्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वन विज्ञान संस्थानकी प्रप्ता लम्साल प्रथम, काठमाडौंको शिवपुरी कलेजकी रित काफ्ले द्वितीय, र जावलाखेलस्थित सेंट जेभियर्स स्कुलका ऋतेश देव तृतीय भएका छन्।
उनीहरूलाई पनि पदक, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगितामा सहभागी अन्य १२ विद्यार्थीले विशेष पुरस्कार प्राप्त गरे।
यी प्रतियोगिताहरूमा नेपालभरका करिब ४० वटा माध्यमिक विद्यालय र विश्वविद्यालयहरूबाट उल्लेखनीय संख्यामा विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताहरू दुई साता लामो चरणबद्ध प्रकृयामा सम्पन्न भएका थिए।
प्रमुख अतिथि डा. दत्तले पाकिस्तानले शिक्षा, स्वास्थ्य र सामुदायिक विकासमा पुर्याउँदै आएको निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै त्यसले दुई देशका युवाहरूलाई साझा मूल्य र जिम्मेवार विश्वनागरिकका रूपमा जोड्ने विश्वास व्यक्त गरे।
पाकिस्तानका नेपालस्थित राजदूत अबरार एच. हाश्मीले समापन मन्तव्य दिँदै विद्यार्थीहरूले जटिल विषयमा देखाएको आलोचनात्मक सोचप्रति प्रशंसा व्यक्त गरे। उनले यस्ता प्रतियोगिताहरूले युवालाई बदलिँदो विश्वका अवसर र चुनौतीहरूमा सजग बनाउने विश्वास व्यक्त गरे।
पछिल्ला १२ वर्षदेखि निबन्ध तथा ८ वर्षदेखि भाषण प्रतियोगिताहरू नियमित रूपमा आयोजना हुँदै आएका दूतावासले जनाएको छ ।