भक्तपुर । चाँगुनारायण नगरपालिकाको आयोजनामा, आईसेट नेपाल/डिसिए नेपालको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको सहकार्यमा, भूकम्पीय सुरक्षा तथा आगलागी नियन्त्रणसम्बन्धी कृतिम घटना अभ्यास सम्पन्न भएको छ। खरिपाटीमा सो अभ्यास सम्पन्न भएको हो ।
अभ्यासको उद्देश्य आपतकालीन कार्यसञ्चालन केन्द्रबारे समान बुझाइ विकास गर्नु, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको प्रभावकारिता परीक्षण गर्नु, र क्षेत्रगत निकायहरूको भूमिका स्पष्ट गर्नु रहेको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख जीवन खत्रीले अभ्यासले विपद् आइलागेको अवस्थामा कसरी काम गर्न सकिन्छ भन्ने सन्देश दिएको बताए। स्थानीय जनप्रतिनिधि, स्वयंसेवक र कर्मचारीप्रति धन्यवाद व्यक्त गर्दै, विपद् जोखिम न्यूनीकरणमा सबै पक्षको सहकार्य आवश्यक रहेको उनले धारणा व्यक्त गरे।
प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले विपद् व्यवस्थापनमा समन्वयको आवश्यकता औंल्याउँदै, ऐन, नीति, कार्यविधि तथा योजनाहरूको परीक्षणका लागि नियमित अभ्यास आवश्यक रहेको बताए। योजना तर्जुमामा विपद् जोखिम न्यूनीकरणसम्बन्धी क्रियाकलाप समावेश गर्नुपर्ने कुरा उनले उल्लेख गरे।
जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि विष्णुहरी थापाले चाँगुनारायण नगरपालिकाले कानुनी तथा नीतिगत तयारीसहित पूर्वतयारीको कार्य गरिरहेकोप्रति प्रशंसा व्यक्त गरे ।
कृतिम घटना अभ्यासमा जिल्लास्तरीय, स्थानीय, आकस्मिक कार्यसञ्चालन केन्द्र तथा वडास्तरीय विपद् व्यवस्थापन समितिहरूको सहभागिता रह्यो। अभ्यासमा भूकम्प घटेको सन्देशअनुसार कार्य सुरु गरिएको थियो।
कार्यक्रममा सहजीकरण परशुराम पाण्डे, कृष्णचन्द्र न्यौपाने, राजकुमार लम्साल, अनुप लामिछाने, मदन आचार्य र दिवाकर पौडेलले गरे। समन्वय संजीवराम वैद्यले गरेका थिए ।
सुर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकाका प्रतिनिधिहरू अवलोकनकर्ताका रूपमा उपस्थित थिए। खोज–उद्धार, प्राथमिक उपचार, घाइतेको व्यवस्थापन र आगलागी नियन्त्रणसम्बन्धी व्यावहारिक अभ्यास प्रदर्शन गरियो।
विपद् व्यवस्थापन इकाई प्रमुख दिनेश थापाले यो संगै आगामी मनसुनलाई लक्षित गर्दै पूर्वतयारी थालिएको जानकारी गराए । “मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२” निर्माणका लागि कार्यशाला आयोजना गरिने उनले जानकारी दिए।
मनसुनको समयमा आइपर्न सक्ने बिपद बाट बच्न र बचाउन सामुहिक सहयोग र समन्वयमा जोड दिदै उनले नगरपालिका यसप्रति चनाखो रहेको बताए ।