ज्वेलर्समा प्रहरीको छापा, अवैध गरगहना र नगद बरामद

काभ्रेपलाञ्चोक, जेठ ७ । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–७, परिवार नियोजन चोकस्थित ‘मनकामना ज्वेलर्स एण्ड मेकिङ सेन्टर’ मा प्रहरीले छापा मारी अवैध रूपमा प्रयोग भईरहेका सुन–चाँदीका गरगहना र लाखौं रुपैयाँ बरामद गरेको छ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेको टोलीले जेठ ७ गते बिहान ११:०० बजे उक्त ज्वेलर्समा छापा मारेको हो।

छापाको क्रममा उक्त पसलका संचालक भारत पश्चिम बंगाल राज्य मदनपुर, पसवाई ग्रामपञ्चायत दासपुर निवासी ४७ वर्षीय दीपंकर मैतीको कोठाबाट सुनजस्तो देखिने पहेंलो धातुका गरगहना ६७८.८३ ग्राम, भारतीय रुपैयाँ २५,३१० र नेपाली रुपैयाँ १,२१,००५ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, सो अवैध कारोबारमा संलग्न रहेको आशंकामा भारत पश्चिम बंगाल, मेदिनिपुर निजामपुर घर भई पाँचखाल नगरपालिका–४ बस्ने ३० वर्षीय सुमन सासमोलबाट २३.०८ ग्राम सुनजस्तो धातु, बनेपा–७ बस्ने ३८ वर्षीय ऋषिकेश गोडसेको कोठाबाट ३२७.७५० ग्राम चाँदीजस्तो धातु बरामद गरिएको छ। साथै, अन्य दुई व्यक्ति—२२ वर्षीय विजय घोराई र ३८ वर्षीय दीपंकर साउलाई समेत पक्राउ गरिएको छ।

बरामद सामग्री र पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरीहर भवन, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

यसअघि, मिति हिजो मंगलबार पनि स्रोत नखुलेको नेपाली रुपैयाँ २५ लाख बरामद गरिएको थियो। सो घटनामा सिन्धुपाल्चोक जिल्ला, इन्द्रावती गाउँपालिका–१ निवासी २१ वर्षीय राजन धमला र सप्तरी जिल्ला, छिनमस्त गाउँपालिका–६ निवासी ३८ वर्षीय संजय कुमार साह संलग्न रहेको पाइएको प्रहरीले बताएको छ। उनीहरूलाई पनि थप अनुसन्धानका लागि हरीहर भवन पठाइएको छ।

जिल्ला प्रहरी कार्यालयले यस्ता अवैध कारोबारहरूविरुद्ध निगरानी अझ कडा बनाइएको जनाएको छ।