मिटरब्याज पीडितको पहिलो आन्दोलन सर्लाहीबाट भयो, हामीले न्याय दियौं : मेयर बुढाथोकी

काठमाडौ । सर्लाहीको हरिवन नगरपालिकाका मेयर एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रमेश बुढाथोकी कमलले नेपालमा मिटरब्याज पीडितको आन्दोलन पहिलोपटक सर्लाहीबाट उठेको र त्यसको नेतृत्व पार्टीका तत्कालीन जिल्ला इन्चार्ज डाचाराज वाग्लेले गरेको स्पष्ट पारेका छन् ।

शनिवार सर्लाही काठमाडौ सम्पर्क समन्वय समितिको अधिवेशनलाई काठमाडौमा सम्बोधन गर्दै मेयर बुढाथोकीले भने, “अहिले देशभरमा मिटरब्याज पीडितहरुको आन्दोलन उठिरहेको छ, त्यसको शुरूवात माओवादी केन्द्र सर्लाहीले गरेको थियो, हाम्रा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेले गर्नुभएको थियो ।”

पीडितहरुलाई अन्याय सहेर बस्न हुँदैन भन्ने चेतना आफूहरूकै कारण स्थापित भएको र मिटरब्याजीहरुको भागाभाग भएको उनको भनाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान एवं गृहमन्त्री हुँदा आफूहरूकै पहलमा पीडितलाई न्याय दिन आयोग बनाएर काम भएको र कानुन नै संशोधन गरेर पिडकलाई कडा सजायको ब्यवस्था थपिएको उनले सुनाए ।

बिचौलिया, दलाल र पुजीपतिको चङ्गुलबाट बाहिर निस्किएर जनताको पहुँचमा आउने नेताहरुले देश र जनताको पक्षमा काम गर्न सक्छन् भन्ने यो गतिलो उदाहरण भएको उनको भनाइ छ ।

“नेतृत्वले जनताको कुरा सुन्ने र सम्बोधन गर्ने तत्परता राख्ने हो भने जनपक्षीय काम हुन्छन् र जनताले राहत पाउछन् ।” मेयर बुढाथोकीले भने ।

गृहमन्त्रीको रूपमा नारायणकाजी श्रेष्ठले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला स्तरिय सहजीकरण समिति गठन गर्ने निर्णय गरेका थिए, जसले स्थानीयस्तरमै पीडितहरूको उजुरी र गुनासो दर्ता गर्ने र सम्बोधन गर्ने कार्य गर्दा धेरै पीडितले न्याय पाएका उनले बताए ।

नेपालमा मिटरब्याज पीडितहरूको पहिलो संगठित आन्दोलनको नेतृत्व माओवादी नेता स्वर्गीय डाचाराज वाग्लेले गरेका थिए। उनले वि.सं. २०७० सालमा सर्लाहीबाट काठमाडौंको माइतीघर मन्डलामा मिटरब्याज पीडितहरूको आवाज उठाउँदै आन्दोलनको थालनी गरेका थिए ।

२०७७ सालमा उनको रहस्यमय मृत्यु भएको थियो । २०७७ माघ २१ गते राति सर्लाही जिल्लाको बरहथवा–नयाँरोड सडकखण्डमा वाग्ले मोटरसाइकल दुर्घटनामा परेको अवस्थामा मृत फेला परेका थिए।

डाचाराज वाग्लेको मृत्यु औपचारिक रूपमा सवारी दुर्घटनाबाट भएको मानिए पनि, राजनीतिक र सामाजिक वृत्तमा यसलाई रहस्यमय र शंकास्पद मानिएको छ। मेयर बुढाथोकीले डाचाराजको सपना मिटरब्याज पीडितको न्याय भएकाले आफूहरूले त्यो धर्म निभाउनुपर्नेमा जोड दिएका छन् ।

बुढाथोकीले सर्लाहीमा मिटरब्याज पीडितहरूको आन्दोलनमा सक्रिय भूमिका खेल्दै आएका छन्। विशेष गरी, उनले सुदखोर श्याम परदेशीविरुद्ध सर्लाहीदेखि काठमाडौंसम्म पीडितहरूसँगै आन्दोलनमा सहभागी भई नेतृत्व प्रदान गरेका छन्।

मेयर बुढाथोकीले अघिल्लो सरकारले बनाएका कानुन कार्वान्यन गरी पिडकलाई सजाय र पीडितलाई न्यायका लागि आवाज उठाइरहन काठमाडौबासी सर्लाहीका नेताकार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

 पूर्व मन्त्री एवं माओवादी केन्द्रका मधेस प्रदेश इन्चार्ज मातृका यादवले सर्लाही काठमाडौ सम्पर्क समन्वय समितिको दोश्रो सम्मेलन उद्घाटन गरेका थिए ।

सो अवसरमा राष्ट्रिय  सभा सदस्य राधेश्याम पासवान, श्रीकृष्ण अधिकारी विवेक त्यस्तैगरी पूर्वमन्त्री रामेश्वर राय यादव, पूर्व सांसद प्रमोद साह, बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, सर्लाहीका नेताहरु अच्युतमप्रसाद काफ्ले, घनश्याम प्रसाद रजक लगायतको आतिथ्यता रहेको थियो ।

सम्मेलनको बन्द सत्रबाट शम्भु नेपालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको नेता राकेश थापाले जानकारी गराए ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा मुकेश खड्का, राज कुमार माले र अमरेन्द्रकुमार कुशवाहा रहेका उनले बताए । त्यसैगरी सचिवमा राेजिना थापा, सह सचिव सराेज रायमाझी र कोषाध्यक्षमा उषा काफ्ले  निर्वाचित भएका नेता थापाले जनाएका छन् ।

नव निर्वाचित समितिले मुख्यतः सर्लाहीबाट काठमाडौ उपत्यकामा बसोबास गर्ने मानिसहरूको हित अभिवृद्धि गर्ने र सर्लाहीबाट विभिन्न सेवा लिन यहाँ आउनेहरुलाई सहयोग र सहजीकरण गर्ने अध्यक्ष शम्भु नेपालले बताएका छन् ।