धुलिखेलमा ज्यान गुमाउने ईश्वरपुरका परियार रहेका पुष्टि,प्राधिकरणप्रति सांसद चौधरीको आक्रोश

काभ्रे । शनिबार करिब साढे ११ बजे काभ्रेको धुलिखेल ७ संजिवनी चोकस्थित बिजुलीको पोलमा चढी काम गरिरहेका बेला करेन्ट लागि ज्यान गुमाएका मजदुरको पहिचान खुलेको छ ।

ज्यान गुमाउने मजदुर सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर १२ घारिबथान स्थायी घर भएका २८ वर्षिय उपेस परियार भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं डिएसपी मिनबहादुर घलेले पुष्टि गरेका छन् ।

११ हजार भोल्टको हाई टेन्सन लाईनमा बिजुलिको पोलमा चढी काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागि बिजुलिको काम गर्ने कामदार परियारको ज्यान गएको डिएसपी घलेले जानकारी दिए ।

पोलमा झुण्डिएको शवलाई इन्स्पेक्टर हरेराम नेपालको नेतृत्वमा पुगेको २५ जनाको टोलिले पोलबाट झिकि पोस्टमार्टमको लागि  धुलिखेल अस्पताल पठाएको थियो । घटनास्थल जिप्रका काभ्रेबाट करिब ३ सय मिटरको दुरीमा रहेको छ ।

ज्यान गुमाउने मजदुर परियार बिजुलीको काम गर्ने भएपनि विद्युत प्राधिकरणका मजदुर भने होइनन् ।

उनलाई ठेकेदार कम्पनीले ६ महिनाको नोकरीमा राखेको देखिएको अनुसन्धान अधिकृत दिनेश बहादुर कुँवरले ननस्टपखबरलाई जानकारी दिए।

बिना सुरक्षा सावधानी जबर्जस्ती काममा लगाउदाँ ज्यान गएको भन्दै प्रत्यक्षदर्शी आक्रोशित छन् । परिवारमा रुवावासी चलेको छ । गरिब मजदुरको ज्यान जाने घटनामा राज्य जिम्मेवार बन्नुपर्ने मजदुर नेता युवराज आचार्यले प्रतिक्रिया दिएका छन् ।

स्थानीय नागरिक अनुवाहरु घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने बताउँछन् । सर्लाही काठमाडौ सम्पर्क समन्वय समितिकी सचिव रोजिना थापाले मजदुर वर्गको सुरक्षामा राज्य संवेदनशील हुनुपर्नेमा जोड दिदै दोषीलाई कार्वाही र पीडित परिवारलाई क्षतिपूर्तीका लागि पहल गर्न सरकार संग आग्रह गरेकी छन् ।

सर्लाही-३ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीले घटनाले विद्युत प्राधिकरणको सुरक्षा ब्यवस्थाप्रति प्रश्न उठाएको बताए ।

प्राधिकरणले लापरबाही गर्दा बिना सुरक्षा मजदुर पोलमा चढ्ने अवस्था देखिएको भन्दै उनले आफूले यसलाई प्रतिनिधि सभामा उठाउने र सरकारको ध्यानाकर्षण गराउने जानकारी गराए ।

घटनाको छानबिन, दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन र घटना दोहोरिन नदिन आफूले सरकारलाई दबाब दिने ननस्टपखबर संग उनले प्रतिक्रिया दिएका छन् ।

विद्युत प्राधिकरणले ठेकेदारलाई देखाएर उन्मुक्ति पाउनु नहुने उनले स्पष्ट पारे ।