भक्तपुर । नेकपा (माओवादी केन्द्र) को भक्तपुर नगर अध्यक्षमा राकेश सुवाल दोहोरिएका छन् । मंगलबार सम्पन्न तेस्रो नगर सम्मेलनले सुवालको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा तत्कालीन अन्तरिम संसदमा सांसद समेत रहेकी नारायण देवी श्रेष्ठ निर्वाचित भएकी छन् भने अन्य उपाध्यक्षहरुमा नारायण सुन्दर त्वयना र बिकास लाखे निर्वाचित भएका निर्वाचन समितिका संयोजक अधिवक्ता लक्ष्मण सुजुखुले जनाएका छन् ।
त्यस्तै सचिवमा बिक्रम ह्यङ्गो र सहसचिवमा श्रीकृष्ण कुम्पाख निश्चल निर्वाचित भएका उनले बताए । पदाधिकारीमा अध्यक्ष सुवालसंगै उपाध्यक्ष त्वयना र सचिव ह्यङ्गो दोहोरिए ।
सबै पदमा सर्वसम्मत भएको र कोषाध्यक्ष पद भने नयाँ कार्यसमितिको पहिलो बैठकले टुंगो लगाउने माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं भक्तपुर नगर इन्चार्ज उमा कपालीले बताएकी छन् । तत्कालीन संविधान सभा सदस्य समेत रहेकी नगर इन्चार्ज कपालीले नयाँ कार्यसमितिलाई सपथ ग्रहण समेत गराएकी छन् ।

भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित नमस्ते बैङ्क्वेटमा सम्पन्न सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्मले पार्टीको क्रान्तिकारी चरित्रलाई कायम राख्दै संगठन निर्माण र नगरवासीको सेवामा लाग्न निर्देशन दिएका थिए ।
सो अवसरमा अर्का केन्द्रीय सदस्य डिपी ढकालले आफू मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार हुँदा भक्तपुर र ख्वप अस्पतालका लागि करोडौं बजेट बिनियोजन गर्न सफल भएको, विद्यालय, सामुदायिक भवन र करिडोरका लागि बजेट छुट्याएको लगायतको फेयरिस्त प्रस्तुत गर्दै नगर समितिले त्यसलाई संस्थागत गर्नपर्नेमा जोड दिए ।
त्यस्तै, जिल्ला संयोजक सुनिल गोठे बासुले स्थानीय तहको निर्वाचनमा जित्नेगरी अघि बढ्नुपर्ने आवश्यकता औल्याउँदै केन्द्रीय अध्यक्ष प्रचण्डको उर्जा र खटाइ अनुशरण गर्न आग्रह गरे ।
उद्घाटन सत्रमा चाँगुनारायण नगर अध्यक्ष नरेश खड्का, मध्यपुर थिमिका उपमेयर समेत रहेका नगर अध्यक्ष बिजय कृष्ण श्रेष्ठ र सूर्यविनायक नगर उपाध्यक्ष राजेन्द्र तिमल्सिनाले शुभकामना ब्यक्त गरेका थिए ।
सो अवसरमा केन्द्रीय सदस्य प्रतिमा श्रेष्ठ, तोत्राकुमारी अधिकारी (इन्दिरा) र श्रीराम खाइजू त्यसैगरी केन्द्रीय सल्लाहकार शिवहरी खनाल, संविधान सभा सदस्य सत्यलाल मूल, बागमती प्रदेश सभा सदस्य एवं प्रदेश सचिवालय सदस्य भुवनकेशरी श्रेष्ठ भावना, बागमती प्रदेश समिति सदस्य तुलसीभक्त त्वयना, जिल्ला सचिव जीवन तज लगायतको उपस्थिति रहेको निवर्तमान उपाध्यक्ष श्रीराम सुवालले बताए ।