भक्तपुर । भक्तपुर जिल्लामा रहेका सरकारी कार्यालयका सूचना अधिकारीहरुलाई सूचनाको हकबारे अभिमुखीकरण गरिएको छ ।
जिल्ला हुलाक कार्यालयको आयोजनामा मंगलबार ‘सूचनाको हक संरक्षणमा सूचना अधिकारीको भूमिका’ विषयक अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा सूचनासम्बन्धी अभियन्ता एवं राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त रत्नप्रसाद मैनालीले नागरिकले मागेको सूचना दिनु सूचना अधिकारीको काम र कर्तब्य भएको भन्दै त्यसमा आलटाल गर्नु नहुने स्पष्ट पारे ।
सूचना अधिकारीले कानुन बमोजिम मागिएका सूचना उपलब्ध नगराए जरिवाना र बिभागीय कार्वाही समेत हुने भएकोले सूचना दिनुपर्नेमा उनले जोड दिए ।
राष्ट्रिय सूचना आयोगले कार्यालय प्रमुख र सूचना अधिकारी मात्र चिन्ने भएकोले सूचना नदिएमा दोष यी दुई ब्यक्तिमै जाने उनले जानकारी गराए । कार्यालयको सूचनामा पहुँच नभए सूचना अधिकारीको जिम्मेवारी नलिन पनि उनले सुझाव दिएका छन् ।
स्थानीय तहमा जनप्रतिनिधि नै सूचना रोक्न लागिपरेका पूर्व सूचना आयुक्त मैनालीले अनुभव सुनाए । जनताको अधिकार प्रवर्द्धन गर्नुपर्ने जनप्रतिनिधिले सूचनाको हक प्रयोग गरी मागिएका सूचना दिन्न भन्नु गम्भीर विषय भएको उनको भनाइ छ ।
यसले लोकतन्त्रमा खतरा रहेकोले आफ्ना कर्मचारीलाई त्यस्तो दबाब दिने जनप्रतिनिधिलाई पनि कार्वाहीको दायरामा ल्याउन कानुन संशोधन गर्नुपर्ने उनले आवश्यकता औल्याएका छन् ।
कार्यक्रम आयोजक जिल्ला हुलाक कार्यालय भक्तपुरकी कार्यालय प्रमुख सीता साम्बाले सूचनाको हक कार्यान्वयनमा जोड दिएकी छन् ।
राष्ट्रिय सूचना आयोगले जिल्लास्थित कार्यालयमा सूचनाको हक कार्यान्वयनको अवस्था अनुगमन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी जिल्ला हुलाक कार्यालयलाई दिएको र सो जिम्मेवारी निर्वाह गरिरहेको उनले जानकारी गराइन् ।
संविधानले नै मौलिक हकको रुपमा सूचनाको हक ग्यारेन्टी गरेकाले जिल्ला अनुगमन इकाइबाट जिल्लाका ५४ वटा सरकारी कार्यालयको स्थलगत अनुगमन गरिदैं आएको उनले बताइन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सूचनाको हक सम्बन्धि ऐन पुनरावलोकन गर्नुपर्ने तर्क गरे ।
छ्यान्ङै हो तर, नाङ्गै होइन भन्दै उनले समय र श्रोतको दुरुपयोग गराउने र दु:ख दिने मनसायले सूचना माग्ने प्रवित्तिलाई निरुत्साहित गर्नुपर्ने प्रष्ट पारे ।
उनले सबै कार्यालयले फोटो सहित सूचना अधिकारीको जानकारी सार्वजनिक गर्न र सेवाग्राहीलाई आवश्यक सूचना समयमै उपलब्ध गराउन निर्देशन समेत दिए ।
सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी भण्डारी, जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीहरुका साथै नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कोषाध्यक्ष संजीप घिमिरे शुभचिन्तक, भक्तपुर जिल्ला शाखाका अध्यक्ष सुन्दर सिल्पकार, कोषाध्यक्ष रामगोपाल तमखुका साथै पत्रकारहरु रमेश गिरी, कृष्ण किसी, अञ्जीर सिंह बिक, रेणु त्वनाबासु, बाबुराम दाहाल, देवेन्द्र प्रजापति र निशा कुस्मा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ज्यादै पुराना, असम्बन्धित र दुःख दिने नियतले सूचना माग्ने प्रवित्ति निरुत्साहित गर्दै आवश्यक र जरुरी सूचना माग गर्न प्रेरित गर्नुपर्ने आवश्यकता समेत औल्याइयो ।
साथै सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि सूचनाको हक सम्वर्द्धन, प्रवर्द्धन र कार्यान्वयनमा जोड दिइएको थियो ।