भक्तपुर । पाँच दिन अघि जिल्ला प्रहरी बृत्त थिमिको प्रमुखमा पदबहाली गरेका डिएसपी नवराज ढुङ्गानाले पत्रकारसंग भेटघाट गरेका छन् ।
सोमबार पत्रकार संग कुराकानी गर्दै डिएसपी ढुङ्गानाले शान्ति सुरक्षालगायतका विषयमा पत्रकारिता जगतको उल्लेखनीय भूमिका रहने बताएका छन् ।
उनले पत्रकारलाई ऐनाको रुपमा आफूले बुझ्ने बताए । पत्रकार समाजको ऐना भएका भन्दै उनले पत्रकारिता मार्फत बृत्तको गतिविधि जस्ताको तस्तै देखाइदिन आग्रह गरे ।
“कतिपय कुरा कार्यालय प्रमुखलाई पनि थाहा नहुन सक्छ, तपाईंहरुले त्यस्ता विषय उजागर गराउँदा प्रहरी संगठनलाई थप मजबुत गराउन मद्दत मिल्छ ।” उनले भने ।
उनले आफ्नो र आफू मातहतका प्रहरीको काम कार्वाहीमा कुनै कमजोरी भए औल्याइदिन पनि आग्रह गरे । यसले सम्भावित गल्ती सच्याउन र गल्ती नदोहोर्याउन सहयोग पुग्ने उनले बताएका छन् ।
डिएसपी ढुङ्गानाले आफू मातहतका प्रहरीको गलत गतिविधि थाहा पाए तत्काल कार्वाही गर्ने उद्घोष पनि गरे । ” प्रहरी ब्यक्ति नभई संगठन भएकोलेले एक ब्यक्तिको कारण संगठन बदनाम बन्नु हुँदैन ।” उनले भने ।
उनले आफ्नो अर्जुन दृष्टि यस क्षेत्रमा शान्ति सुरक्षा थप बजबुत बनाउने तर्फ रहने बताए । जघन्य अपराध नियन्त्रणमा आफ्नो बलबुताले बृत्तको नेतृत्व गर्ने उनले बताएका छन् ।
उनले लागू औषध दुर्ब्यशनको नियन्त्रणमा प्रभावकारी कदम चाल्ने दावी पनि गरे ।
सानोठिमी क्षेत्रमा शैक्षिक वातावरण कायम गर्ने देखि बढ्दो आत्महत्या निरुत्साहन गर्न तर्फ पनि आफू अग्रसर हुने उनले प्रतिवद्धता प्रकट गरेका छन् ।

सो अवसरमा उनले चोरी नियन्त्रण, ठगी नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, सहकारी पीडितका समस्या समाधान, माटो बालुवा तस्करी र जुवातास नियन्त्रण, घरेलु हिंसा र साइबर अपराध नियन्त्रणका साथै अबैध मदिराको कारोबार नियन्त्रण लगायतमा पत्रकार जगतले सूचना दिएर सहयोग गर्ने बिश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर सिल्पकारको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा महासंघका उपत्यका प्रदेश समितिका कोषाध्यक्ष संजीप घिमिरे शुभचिन्तक र सदस्य सुरेस सायजू, जिल्ला शाखाका संस्थापक अध्यक्ष रमेश खड्का, सल्लाहकार जगत प्रजापति र पुस्करराज बुढाथोकी त्यसैगरी केन्द्रीय परिषद सदस्य पेशल आचार्य र रमेश गिरीका साथै मध्यपुर सञ्चार समाजका अध्यक्ष चन्द्र कृष्ण श्रेष्ठ एवं पूर्वअध्यक्ष बाबुकाजी श्रेष्ठ लगायत दुई दर्जन पत्रकारहरुको सहभागिता रहेको जिल्ला सचिव दीपक ढुङ्गानाले जानकारी दिए ।
कार्यक्रममा पत्रकारहरुले बृत्तले सूचना सोझै नदिई परिसर मार्फत घुमाएर दिदाँ कतिपय सूचना नपाइने र कतिपय ढिला पाइने गरेको गुनासो गरे । उनीहरुले बृत्तबाट सोझै सूचना दिने ब्यवस्था गर्न आग्रह गरेका थिए ।
२०६४ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका प्रहरी नायब उपरीक्षक ढुङ्गाना अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सरुवा भई थिमि बृत्त प्रमुखको जिम्मेवारीमा आएका हुन् ।
काम गर्ने हुटहुटी भएका उनीसंग यस अघि बृत्त प्रमुख भएको अनुभव पनि रहेको छ । प्राय: प्रहरी पत्रकारसंग टाढा बस्न रुचाउनेमा यिनी अपवाद देखिएका छन् । आएको पाँच दिनमै पत्रकार भेटघाट गरी अन्तरक्रिया गरेका डिएसपी ढुङ्गानाले यसलाई निरन्तरता दिन्छन् या, दिदैनन् लगायत आगामी दिनका उनका कार्य सम्पादन भने हेर्न बाकी छ ।