भक्तपुर । नेकपा (माओवादी केन्द्र) ले भक्तपुर जिल्लाका सबै पालिकामा नयाँ नेतृत्व चयन गर्ने भएको छ । बैशाख २५ गतेभित्र सबै नगरमा सम्मेलनमार्फत नयाँ नेतृत्व चयनको तयारी गरिएको हो ।
भक्तपुर नगर समितिको क्यालेन्डर बिमोचन गर्दै जिल्ला संयोजक सुनिल गोठे बासुले २५ गतेभित्र सबै पालिकामा सम्मेलन सम्पन्न हुने र नयाँ नेतृत्व चयन हुने जानकारी गराए ।
उनले समयमै वडा सम्मेलन सम्पन्न गर्न निर्देशन दिदैँँ वडाबाट प्रतिनिधि भएर नआए नगर समितिमा प्रतिस्पर्धा गर्न नपाउने प्रावधान रहेको पनि प्रष्ट पारे ।
“आगामी स्थानीय तहको निर्वाचनमा जित्नेगरी वडा र नगरको नेतृत्व छानौं ।”संयोजक सुनिलले भने, “अब नेताको वरिपरि घुमेर नेता बन्ने र खुसामद गर्दै नेता बनाउने प्रवित्ति अन्त्य गरौं ।”
जिल्लामा सबैभन्दा पहिला चाँगुनारायण नगर सम्मेलन हुने उनको भनाइ छ । सो सम्मेलन बैशाख २२ गते गर्ने तयारी रहेको उनले बताए
चाँगुनारायणमा हाल नगर अध्यक्ष नरेश खड्का छन् । माओवादी केन्द्रले प्रदेश सांसदसमेत रहेका केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठलाई सो नगरको इन्चार्ज बनाएको छ ।
त्यस्तै भक्तपुर नगर सम्मेलन बैशाख २३ गते गरिने नगर अध्यक्ष राकेश सुवालले बताएका छन् । भक्तपुर इन्चार्जको जिम्मेवारी संविधान सभा सदस्य समेत रहेकी केन्द्रीय सदस्य उमा कपालीले पाएकी छन् ।
सूर्यविनायक नगर सम्मेलन भने बैशाख २४ गते हुने नगर अध्यक्ष सानुकान्छा आलेमगरले जानकारी गराए । केन्द्रीय सदस्य तोत्राकुमारी न्यौपाने(इन्दिरा) सूर्यविनायक इन्चार्ज रहेकी छन् ।
त्यसैगरी मध्यपुर थिमिको नगर सम्मेलन बैशाख २५ गते गर्ने तय भएको बताइएको छ । नगरपालिकाका उपमेयर समेत रहेका विजयकृष्ण श्रेष्ठले सो पालिकाको अध्यक्ष छन् भने पूर्व प्रदेश सांसद समेत रहेकी केन्द्रीय सदस्य प्रतिमा श्रेष्ठले इन्चार्जको जिम्मेवारी पाएकी छन् ।
भक्तपुरका चार नगर मध्ये सबैभन्दा धेरै संगठित सदस्य भएको नगर भने क्रमशः मध्यपुर थिमि, चाँगुनारायण, सूर्यविनायक र भक्तपुर भएको जिल्ला सचिव जीवन तजले जनाएका छन् ।
जिल्लाभरी ३ हजार ५ सय बढी संगठित पार्टी सदस्य रहेका उनले बताए ।
कतिपयले अझै सदस्यता नविकरण नगरेका र सदस्यता नविकरण नगर्ने सदस्यहरु सम्मेलनमा सहभागी हुन नपाउने जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्मले जानकारी गराएका छन् ।