कालिका नगरपालिकामा विद्यालय खोल्ने सहमति भएको भन्दै भ्रम फैलाइयो

चितवन । चितवनको कालिका नगरपालिका अन्तर्गतका विद्यालय खोल्न कुनै सहमति नभएको स्थानीय शिक्षक संघ संगठनले स्पष्ट पारेका छन् ।

कालिका नगरपालिकामा शिक्षकहरु विद्यालय खोल्न सहमत भएका भन्दै भ्रम छर्न खोजिएको प्रति उनीहरुले आपत्ति पनि प्रकट गरे ।

१५ गतेदेखि विद्यालय सञ्चालन गर्न पालिकाले आग्रह गरेपछि त्यसो गर्न नसकिने जानकारी गराउन पुगेका शिक्षक नेताहरु र प्रधानाध्यापकसंग फोटो खिचाइ नगरपालिका नेतृत्वले विद्यालय खोल्ने सहमति भएको भन्दै प्रचार गर्न लगाएको आन्दोलनरत एक शिक्षक नेताले आरोप लगाए ।

नगर प्रमुख बिनोद रेग्मी सत्तारुढ दल नेकपा एमालेका नेता पनि हुन् । उनले साझा चरित्र देखाउनुको सट्टा प्रधानमन्त्री केपी ओलीलाई रिझाउन विद्यालय खुलेका भन्दै भ्रम छर्न खोजेका शिक्षक नेताहरूको भनाइ छ ।

आफूहरुको आन्दोलन कुनै दलप्रति वा नेताप्रति लक्षित नरहेकोले आन्दोलनलाई साथ र सहयोग गर्न आन्दोलन परिचालन समितिले आग्रह गरेको छ ।

नेकपा एमाले निकट शिक्षक संगठनका कालिका नगर कमिटीले पनि विद्यालय खोल्न नसकिने स्पष्ट पारेको छ । सत्तामा पुगेर पेशागत आन्दोलनको अवमूल्यन नगर्न शिक्षक नेताहरुले सुझाव दिएका छन् ।

आन्दोलन कमजोर पार्ने प्रयासबाट बच्नुपर्नेमा जोड दिदै स्थानीय सरकारले भन्यो भन्दैमा खुट्टा नकमाउन नेपाल शिक्षक महासंघले समेत सम्बन्धित शिक्षकहरुलाई आग्रह गरेको छ ।

पालिकामा गठन भएका शिक्षक संघसंगठनका अध्यक्षहरुले आइतबार जारी बिज्ञप्ती मात्र आधिकारिक भएको जानकारी गराएका छन् ।