सरकार र शिक्षकबीचको वार्तामा आज पनि जुटेन सहमति

काठमाडौ । सरकार र शिक्षकबीच मंगलबार भएको वार्ता पनि निष्कर्षमा पुग्न सकेन। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा रातिसम्म चलेको छलफलबाट कुनै ठोस सहमति जुट्न सकेन।

शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्तामा उपप्रधान तथा अर्थमन्त्री र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। तर वार्ताले फेरि पनि समाधानको बाटो खोल्न सकेन।

यसअघि सोमबार साँझ पनि वार्ता भएको थियो। त्यसपछि मन्त्रिपरिषद् बैठक बसेको थियो र त्यसकै निरन्तरतामा फेरि राति वार्ता गरिएको थियो। तर सोमबारको छलफल पनि निष्कर्षविहीन बनेको थियो।

मंगलबार शिक्षामन्त्री पन्तले दिउँसो ३ बजे वार्ताको समय तोकेका थिए। तर शिक्षक महासंघको विस्तारित बैठक ढिलो भएपछि साँझ ८ बजे मात्रै वार्ता सुरु भयो। पन्तले ५ घण्टाभन्दा बढी समयसम्म प्रतीक्षा गरेका थिए।

शिक्षक महासंघले ९ वटा माग राख्दै ती माग पुरा भए आन्दोलनको स्वरुप परिवर्तन गर्ने र कार्यस्थल फर्किने बताएको छ।

वार्तापछि शिक्षामन्त्रीले छोटो प्रतिक्रिया दिँदै भने, “हामी शिक्षकहरुसँग वार्तामा छौं, र यो सकारात्मक रूपमा अगाडि बढिरहेको छ। सम्भव भएसम्म चाँडो टुंग्याउन प्रयत्न गर्छौं।”