ललिता साह,भक्तपुर । नेपाल सरकारका संस्कृति तथा पर्यटन मन्त्री बद्री पाण्डेले सम्पदा संरक्षणको यात्रालाई गति दिन स्थानीय सरकारले अपनत्व लिनुपर्ने बताएका छन् ।
शुक्रबार भक्तपुर नगरपालिकाको आयोजनामा विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायरमा गरिएको “भूकम्पको दश वर्षमा पुनर्निर्माण समीक्षा तथा पुनरावलोकन कार्यको बृहत बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
उनले भने, “उपत्यकाभित्रका तिनै जिल्लामा रहेका अन्तर्राष्ट्रिय विश्व सम्पदा क्षेत्रहरू पशुपतिनाथ, बौद्ध तथा स्वयम्भू जोड्ने गरी संघीय सरकारले ल्याउने योजनामा प्रदेश र स्थानीय सरकारले निर्माण सम्पन्नमा जोडिनुपर्छ ।”
यसले काठमाण्डौ उपत्यकालाई पर्यटकीय सर्किटको रूपमा विकास गरेर सम्पदा यात्रालाई अगाडि बढाउन सकियो भने यसको प्रभाव राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पर्ने र हाम्रो सम्पदा संरक्षणमा टेवा पुग्नेमन्त्री पाण्डेले सुझाए ।
भूकम्प गएको एक दशक बितिसकेको छ तर पुननिर्माणको कामहरु देशैभरमा लथालिङ्ग र दयनीय देखिएको प्रतिनिधि सभा सदस्य प्रेम सुवालले बताए ।
“यो कुरा बारम्बार संसद्मा नउठेका होइनन् तर हाम्रो सरकारले कर्मचारीलाई तलब खुवाउने पैसा छैन भनेर दोहोर्याइरहेको अवस्थामा पुननिर्माणको कार्यलाई कसरी अगाडि बढाउने भने हाम्रो सामु चुनौतीको विषय रहेको छ ।” सांसद सुवालले भने ।
भुकम्प पछिको पुनर्निर्माणमा दल र राजनीतिक रुपमा विभाजन नभई नागरिक स्तरबाट जुट्नुपर्नेमा संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव विनोद प्रकाश सिंह लगायतले जोड दिएका छन् ।
बैठक उद्घाटन समारोहमा भक्तपुर नगरपालिकाको नगर प्रमुख सुनिल प्रजापति, चाँगुनारायण नगर प्रमुख जीवन खत्री र काठमाडौँ महानगरका उपप्रमुख सुनिता डंगोल लगायतको समेत आतिथ्यता रहेको थियो ।