भक्तपुर । सूर्यविनायक नगरपालिकाको गत ३१ गते बसेको नगर कार्यपालिकाको बैठकले नगर भित्र सञ्चालनमा रहेका र सञ्चालन नभएका सबै खानेपानी उपभोक्ता समितिहरूलाई केयूकेएल (KUKL) मा गाभ्ने निर्णय गरेको छ। यस निर्णयलाई एकतर्फी र समितिहरूसँग कुनै पूर्व परामर्शबिना गरिएको भन्दै व्यापक आलोचना भइरहेको छ।
यद्यपि सबै उपभोक्ता समितिहरूलाई गाभ्ने भनिए पनि प्रारम्भिक चरणमा १ देखि ६ नम्बर वडाका समितिहरूलाई मात्र समेट्ने भनिएको छ।
ती वडाका अध्यक्षहरूले भने आफ्ना वडाभित्रका समितिहरूलाई तीन दिनभित्र राय पेस गर्न निर्देशन दिएका छन्।
उपभोक्ता समितिहरूले नगरपालिकाको यो निर्णय मनपरी र स्वेच्छाचारी भएको भन्दै विरोध जनाएका छन्। यस कार्यका पछाडि गम्भीर राजनीतिक रहस्य लुकेको र नगरपालिकाले आफ्नो असक्षमता ढाकछोप गर्न यस्तो निर्णय गरेको आरोप छ।
सूर्यविनायक नगरपालिकाभित्र ५२ वटा उपभोक्ता समितिहरूलाई एकै प्रकारको पत्र पठाइएको र यो नियतबस ‘नाटक मञ्चन’ मात्र भएको उपभोक्ता समिति बताउँछ ।
यसैबीच, उपमेयर सरिता भट्टराईको संयोजकत्वमा मेलम्चीको पानी कटुन्जे, दधिकोट, वालकोट र सिरुटारसम्म ल्याएर ट्याङ्कीमार्फत वितरण गर्ने योजना अघि बढेको लामो समय भइसक्दा पनि हालसम्म त्यसको कार्यान्वयन नभएकोप्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
नगरपालिकाले मेलम्चीको पानी ट्याङ्कीसम्म ल्याउने काम अझै सम्पन्न नगरेकोमा आलोचना भैरहेको छ। स्थानीय उपभोक्ताहरूले नगरपालिकालाई जवाफ दिन माग गरेका छन्—”मेलम्ची मात्र किन? स्थानीय स्रोतहरूको उपयोग किन नगर्ने?” आशापुरी र गुण्डुका महादेव खोलामा ड्याम निर्माण गर्ने कुरा कहाँ गयो भनेर प्रश्न उठिरहेका छन्।
विशेषगरी कटुन्जेवासीहरू नगरको यस्ता निर्णयबाट आक्रोशित छन्। कटुन्जे घट्टेखोला लिफ्ट खानेपानी, पाण्डो बजार, तीनधारा र सुवर्णेश्वर खानेपानी योजनाहरूलाई पनि केयूकेएलमा गाभ्न खोजिएकोमा ती स्थानका उपभोक्ताहरू विरोधमा उत्रिएका छन्।
उपमेयर सरिता तिम्सिना भट्टराई र कार्यकारी अधिकृत तारानाथ लुइँटेलले उपभोक्ताहरूलाई झाराटारी कुरा गरेर टार्ने प्रयासमा लागेको आरोपसमेत लागेको छ।
उपभोक्ता समितिका पदाधिकारीहरू भन्छन्—पहिले पानी नपुगेका क्षेत्रहरूमा सेवा पुर्याउन प्राथमिकता दिनु पर्ने हो, तर त्यसतर्फ ध्यान नदिई सबैलाई एउटै मापदण्डमा राखेर गरिएको निर्णय गलत छ। नियमअनुसार राम्रोसँग सेवा दिइरहेका समितिहरूलाई मूल्यांकन गरी पुरस्कृत गर्नुपर्नेमा सबैलाई एकैसाथ हटाउने निर्णयमा षडयन्त्र भएको आशंका गरिएको छ।
यसको पछाडि पनि कुनै आन्तरिक सम्झौता, जस्तै अघिल्लो नेप्सेम्याक प्रकरणजस्तै, नगरभित्र फेरि दोहोरिने त होइन भन्ने प्रश्नहरू उठिरहेका छन्। कटुन्जे घट्टेखोला क्षेत्रका समिति सदस्य र उपभोक्ताहरूले आफूहरूले बिहान-बेलुका जनतालाई सहज रूपमा पानी उपलब्ध गराउँदै आएको स्रोत माथि गिद्धे दृष्टि परेको ठहर गर्दै, उपभोक्ता भेला बोलाउने तयारी गरिरहेको जनाइएको छ।
जनप्रतिनिधि जस्तै आफूहरु पनि जनमत बाट निर्वाचित भएकोले जनताप्रतिको उत्तरदायित्व पूरा गर्न नगरपालिकाले रोक्न नहुने उपभोक्ता समिति पदाधिकारीको भनाइ छ ।
स्वायत्तरुपमा उपभोक्ताहरुले सञ्चालन र व्यवस्थापन गरिरहेका नगरपालिका क्षेत्रभरी सञ्चालित सबै खानेपानी आयोजनाहरुको सञ्चालन र व्यवस्थापन केएलकेयु मार्फत हुने गरी काठमाण्डौं उपत्यका खानेपानी बोर्डलाई हस्तान्तरण गर्ने नगरपालिकाको निर्णय पुष्टि गर्दै प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले भने यसले खानेपानी आपूर्तिलाई समान र ब्यवस्थित बनाउने भन्दै निर्णयको बचाव गरे ।