काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्तलाई जिम्मेवारी दिएका छन् ।
प्रतिनिधि सभा सदस्य रहेका नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तलाई उनले सो जिम्मेवारी सुम्पिएका हुन् । ललितपुरका नेता पन्त समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य भएका हुन् ।
रास्ट्रपति कार्यालयले पन्त शिक्षा मन्त्री हुने पुष्टि गरेको छ । उनलाई रास्ट्रपति रामचन्द्र पौडेलले शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री नियुक्त गरेका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले बताए ।
पन्तको सपथ ग्रहण बिहीबार हुने बताइएको छ । शिक्षक आन्दोलनका कारण सोमबार शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि सो पद रिक्त थियो । यद्यपि भट्टराईले स्वास्थ्य प्रतिकुलताका कारण राजीनामा दिएको भनेकी थिइन् । सरकारका प्रवक्ताले उनले राजीनामा दिएको थाहा नभएको प्रतिक्रिया दिइरहँदा नयाँ मन्त्री नियुक्त भएका छन् ।
साथै, प्रधानमन्त्री ओलीले उर्जा राज्यमन्त्री कान्छाराम तामाङ(पूर्णबहादुर तामाङ)लाई पदमुक्त गरेका छन् । तामाङ विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा खुलेर लागेका थिए । घिसिङलाई हटाउनु नहुने भन्दै उनले सार्वजनिक अभिव्यक्ति नै दिएका थिए ।