दीर्घबहादुर शाही, डोल्पा । मुड्केचुला गाउँपालिकाले कर्णालीको विकट क्षेत्रमा लुकेको खेलकुद प्रतिभालाई उजागर गर्ने उद्देश्यसहित आयोजना गरेको अध्यक्ष कप खेलकुद प्रतियोगिता- २०८२ भव्यताका साथ सम्पन्न भएको छ।
प्रतियोगिताले केवल प्रतिस्पर्धा मात्र होइन, सम्भावनाको उज्यालो सन्देश पनि बोकेको छ।
समापन समारोहमा प्रमुख अतिथि तथा मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीले खेलकुदलाई अनुशासन, मितव्ययिता र लुकेको कला प्रस्फुटन गर्ने सशक्त माध्यमका रूपमा व्याख्या गरे।
उनले भने, “खेलमार्फत केवल व्यक्तिगत पहिचान मात्र हासिल हुदैन, पालिका, प्रदेश र सम्पूर्ण राष्ट्रको गौरव अभिव्यक्त हुन्छ।”
शाहीले खेल अवधिभर देखिएको उत्साहजनक सहभागिता र अद्वितीय क्षमताले कर्णालीमा खेलकुदको अपार सम्भावना रहेको विश्वास व्यक्त गरे। उनले आगामी दिनहरूमा यस्ता प्रतियोगिताबाट अझ धेरै खेलाडीको क्षमता उजागर गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको जानकारी पनि दिए।
कार्यक्रमका विशेष अतिथि र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम महताराले युवाहरूको चासोलाई ध्यानमा राख्दै महिला भलिबल र पुरुष फुटबल प्रतियोगिता सञ्चालन गरिएको बताए।
“९ वटा वडाबाट १८ टिमको सक्रिय सहभागिता रहेको प्रतियोगिता अत्यन्त प्रेरणादायी रह्यो,” उनले भने।
यद्यपि, केही खेलाडीमा अनुशासन र खेलभावनाको कमी देखिएकाले भविष्यमा त्यसप्रति सचेत हुनुपर्ने सुझावसमेत दिए। “हिमाली जिल्ला भित्र यति धेरै क्षमतावान खेलाडीहरू हुनु गर्वको कुरा हो,” उनले थपे।
समापन समारोहमा खेलकुद विकास समितिका कोषाध्यक्ष लंक शाहीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष रमेश बुढाथोकीले गरेका थिए।
यस अध्यक्ष कप प्रतियोगिताले मुड्केचुला गाउँपालिकाभित्र खेलकुदको चेतना थप बलियो बनाएको छ। यस्ता स्थानीय पहलहरूले भविष्यमा कर्णाली क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने विश्वास लिइएको छ।
प्रतिस्पर्धाका बिजयी खेलाडी र समूहलाई समापन समारोहका अवसरमा ट्रफि, मेडल र नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
प्रतियोगिताको नतिजा यसप्रकार रहेको छ :
फुटबल:
प्रथम: मुड्केचुला वडा नं. ४
द्वितीय: वडा नं. ९
महिला भलिबल:
प्रथम: वडा नं. ६ (A टिम)
द्वितीय: वडा नं. ८
पुरुष भलिबल:
प्रथम: नलगाड नगरपालिका–८, जाजरकोट
द्वितीय: वडा नं. १३
ब्याडमिन्टन (एकल):
प्रथम: खिम रोकाया
द्वितीय: सागर बुढा
ब्याडमिन्टन (डबल):
प्रथम: आठबीसकोट नगरपालिका–९, रुकुम पश्चिम
द्वितीय: प्रहरी चौकी ईल