चराको गुँड बनाउन सहयोग गर्दै मध्यपुर थिमि नगरपालिका

भक्तपुर । आधुनिक भवन निर्माणसंगै चराचुरुङ्गीको बासस्थान घट्दै गएकोप्रति मध्यपुर थिमि नगरपालिकाको ध्यानाकर्षण भएको छ । नगरपालिकाले चरा संरक्षणका लागि चरामैत्री बासस्थान अर्थात् उनीहरूका लागि गुँड बनाइदिन शुरु गरेको हो ।

चरा संरक्षण अभियानका अभियन्ता बाबुकाजी श्रेष्ठ लगायतको पहलमा नगरपालिकाले चराको लागि बासस्थान बनाउन सहयोग गरेको नगर प्रमुखका स्वकीय सचिव पवन सिबन्जा श्रेष्ठले बताएका हुन् ।

“हाल दुई पोखरी लगायतका क्षेत्रमा नमूनाको रुपमा २५ वटा बासस्थान बनाइएको छ ।” श्रेष्ठले भने ।

आधुनिक घर निर्माण हुने क्रम बढेसंगै परेवा, भंगेरा, गौथली, मैना र कौवा जस्ता चराहरुको लागि बासस्थान नासिदै गएकोले उनीहरूका लागि उपयुक्त बासस्थान अभियान चलाइएको अभियन्ता बाबुकाजी श्रेष्ठले बताए ।

मध्यपुर थिमि
मध्यपुर थिमि

चरा संरक्षण गर्ने अभियानमा नगरपालिकाको सदैव साथ र सहयोग रहने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले जनाएका छन् । नमूनाको रुपमा शुरु भएको गुँड बनाउने अभियान प्रभावकारी भए भविष्यमा हजारौं गुँड  बनाइने उनले बताए ।

चराले कीराहरू खाएर पर्यावरणमा सहयोग गर्ने मात्र नभई यसले वातावरणलाई पनि प्राकृतिक र मनोरम बनाउन मद्दत गर्ने भएकोले चरा संरक्षणमा नगरपालिकाको सदैव सहयोग रहने नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

स्थानीय अभियन्ता र नगरपालिकाको यो प्रयासले अरु पालिकालाई पनि प्रेरणा मिल्ने र सदिऔ देखि मानिसको नजिक बस्ने बानी परेका चराहरु माथि न्याय हुने मध्यपुर थिमिका स्थानीय समेत रहेका नेपाल पत्रकार महासंघ भक्तपुरका पूर्व अध्यक्ष जगत कृष्ण प्रजापतिले बिश्वास ब्यक्त गरेका छन् ।

मध्यपुर थिमि
मध्यपुर थिमि