भक्तपुर । भक्तपुरको चाँगुनारायण-२ दुवाकोटमा बिस्काः जात्राको अवसरमा पहिलोपटक गणेशको खट जात्रा गरिएको छ । पहिलोपटक गरिएको भएपनि श्री फैटोका गणेशको खट जात्रा भब्यरुपले सम्पन्न भएको छ ।
“खटजात्रा” भन्नाले खट अर्थात काठले बनाइएको खटमा देवताको मूर्ति राखेर नगर परिक्रमा गरिने यात्रा हो। यसो गर्दा देवताले रक्षा गर्ने नेवा: समुदायमा जनविश्वास रहीआएको छ ।
फैटोका गणेशको खटजात्रा पनि स्थानीय नेवा: समुदायको पहलमा गरिएको हो । यो खटजात्रामा भक्तपुर नगरका हाडा र बिजुक्छें परिवारको पनि बिशेष सहभागिता रहेको फैटोका गणेश खट जात्रा सञ्चालन समितिका अध्यक्ष श्यामप्रसाद प्रधानले बताएका छन् ।
फैटोका गणेश खट जात्रा नेवा: समुदायमा मात्र सिमित रहेको भने थिएन । नयाँ बस्तीको रुपमा बिकास भईरहेको दुवाकोटमा अन्य समुदायका मानिस पनि जात्रामा उत्तिकै सहभागी देखिन्थे ।
जात्रामा सबै समुदायले सहयोग र सहभागिता जनाएका अध्यक्ष प्रधानले जानकारी गराए ।
फैटोका गणेश शताब्दिऔं पुरानो इतिहास भएको मन्दिर भएपनि खट जात्रा सञ्चालन भने भएको थिएन । प्रत्येक वर्ष खटजात्रा गर्ने कुरा भएपनि यसपटक जात्रा गर्न सकिएको प्रति खटजात्रा सञ्चालन समितिका कोषाध्यक्ष पुष्प प्रधानाङ्गले सन्तोष व्यक्त गरे ।
“सबैको साथ र सहयोगबाट यस वर्ष खट जात्रा गर्न सक्यौं, अब प्रत्येक वर्ष गर्छौ ।” कोषाध्यक्ष प्रधानाङ्गले प्रष्ट पारे ।
यसमा समुदायसंगै वडा कार्यालय, हेल्थपोस्ट, रेडक्रस, स्थानीय प्रहरी, सहकारी लगायतका संघसस्थाको पनि उत्तिकै सहयोग रहेको उनले बताए ।
फैटोका गणेशको खटलाई करिब ४ किलोमिटर परिक्रमा गराइएको थियो । नयाँ पिढीका युवाहरु जात्रामा उत्साहपूर्णक सहभागि भएका थिए ।
पूर्व वडाध्यक्ष शिवहरि केसीले सबै समुदायका मानिसहरु नेवा: परम्परा अनुसारको यो जात्रामा सहभागि हुँदा सामाजिक एकता सुदृढ भएको बताएका छन् ।
वडाध्यक्ष सोमप्रसाद प्रधानले धार्मिक ऐतिहासिक महत्वका अलावा पुरानो परम्पराबारे नयाँ पुस्तालाई जानकारी गराउन पनि खटजात्राको महत्व रहेको बताए ।
श्री फैटोका गणेश खट जात्रा सञ्चालन समितिले पहिलो पटकको खट जात्रालाई नै सभ्य र भब्य बनाएर यसको निरन्तरता सुनिश्चित गरेको भन्दै उनले सन्तोष ब्यक्त गरे ।