उद्घाटन बिदा दिएको भन्दै मण्डनदेउपुर नगरपालिकाको आलोचना

नगरकोट । नगरकोट भ्रमण वर्ष २०८२ लाई तीन दिन लगाएर उद्घाटन गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार औपचारिक उद्घाटन गरेको कार्यक्रमको आज बुधबार समापन हुने भन्दै काभ्रेको मण्डनदेउपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाले स्थानीय बिदा दिन पाउने अधिकारको प्रयोग गर्दै प्रमुख स्तरीय निर्णयबाट नगरपालिकाभरी बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले जनाएका छन् ।

उद्घाटन समारोहमा बिदा दिएको विषयमा आलोचना भइरहेको छ ।मण्डनदेउपुर नगरपालिकाले भने जनप्रतिनिधि तथा कर्मचारीहरू सहभागी हुनपर्ने भएकोले वैशाख ३ गते (बुधबार) बिदा दिनुपरेको बताउदै निर्णयको बचाव गरेको छ ।

मण्डनदेउपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठद्वारा जारी सूचनामा मातहतका कार्यालय, विद्यालय र संघसस्थामा बिदा घोषणा गरिएको छ र सबैलाई कार्यक्रममा उपस्थितिका लागि आमन्त्रण गरिएको छ ।

यस अघि पनि प्रशासकीय भवन उद्घाटनपछि थकाइ बिदा दिएको भन्दै मण्डनदेउपुर नगरपालिकाको आलोचना भएको थियो ।

मण्डनदेउपुरका नगर प्रमुख टोकबहादुर वाइवाको संयोजकत्वमा नगरकोट भ्रमण वर्ष आयोजक मूल समिति निर्माण भएको छ ।

नगरकोट भ्रमण वर्षका लागि काभ्रेको मण्डनदेउपुर संगै भक्तपुरको चाँगुनारायण नगरपालिका, काठमाडौको शङ्खरापुर नगरपालिका र काभ्रेको बनेपा नगरपालिका संयुक्त आयोजक रहेका छन् । यो वर्षभरी विविध कार्यक्रम गरी भ्रमण वर्ष मनाउने र नगरकोटमा ११ लाख पर्यटक भित्राउने  उनीहरुले लक्ष लिएका छन् ।