काठमाडौं । मित्र राष्ट्र पाकिस्तानको ८५औं राष्ट्रिय दिवस काठमाडौमा मनाइएको छ । सो अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासले मंगलबार होटल सोल्टीमा विशेष समारोह आयोजना गरेको थियो ।
समारोहमा नेपालका उपराष्ट्रपति डा. रामसहाय प्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । साथै, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल, र पूर्व उपप्रधानमन्त्री सीपी मैनालीसहित विभिन्न उच्चपदस्थ व्यक्तिहरूको आतिथ्यता रहेको थियो।
कार्यक्रममा नेपालका वरिष्ठ राजनीतिज्ञ, सरकारी तथा निजी क्षेत्रका अधिकारी, व्यावसायिक प्रतिनिधि, विभिन्न देशका राजदूत तथा कूटनीतिज्ञहरू, पाकिस्तानी समुदायका सदस्यहरू, पत्रकारहरू र नागरिक समाजका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
उक्त अवसरमा “A Glance at Pakistan” शीर्षकको फोटो प्रदर्शनीसमेत गरिएको थियो, जसमा पाकिस्तानको सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक विविधता झल्काइएको थियो।
कार्यक्रममा सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीले पाकिस्तान राष्ट्रिय दिवसको ऐतिहासिक पृष्ठभूमि र महत्वबारे चर्चा गरे। उनले पाकिस्तानले औपनिवेशिक शासनबाट स्वतन्त्रता प्राप्त गरी गणतन्त्रको स्थापना गरेको ऐतिहासिक यात्रालाई स्मरण गर्दै राष्ट्रका अग्रजहरूलाई श्रद्धाञ्जली अर्पण गरे।
राजदूत हाश्मीले पाकिस्तानले अन्तर्राष्ट्रिय दायित्वहरू पूरा गर्न विश्व समुदायसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै भने, “पाकिस्तान र नेपालबीचको सम्बन्ध हिमालदेखि सभ्यता र संस्कृति जोड्ने सेतु हो।” उनले शिक्षा, स्वास्थ्य, रक्षा, जलवायु परिवर्तन, तथा विपद् व्यवस्थापन जस्ता क्षेत्रमा सहकार्य विस्तार हुँदै जाने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाली सेनाको ब्यान्डले दुबै देशका राष्ट्रिय गानहरू तथा पाकिस्तानी सांगीतिक धुनहरू प्रस्तुत गरी वातावरणलाई झनै भव्य बनाएको थियो।