महिला र युवालाई कानुनी ज्ञान अझबढी आवश्यक : ढकाल

भक्तपुर । नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य, लेखक एवम् बिश्लेषक डीपी ढकालले महिला र युवालाई कानुनी ज्ञान बढी आवश्यक रहेको बताएका छन् ।

महिला बिकास केन्द्रले थिमिमा आयोजना गरेको कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रमलाई मंगलबार उद्घाटन गर्दै बौद्धिक नेता ढकालले कानुनले दिएको अधिकार थाहा नहुँदा महिलाहरु हिंसामा परेर पनि सहेर बस्नुपर्ने बाध्यता रहेको बताए ।

उनले महिला हिंसा न्यूनीकरणका लागि यस्ता कार्यक्रम उपयोगी हुने बिश्वास ब्यक्त गरे ।

त्यस्तैगरी पछिल्लो समय बालबालिका र युवाहरु साइबर अपराधमा फसिरहेका उल्लेख गर्दै उनले कानुनी ब्यवस्था बारे थाहा छैन भन्न नपाइने बताए । उनले बालबालिका र युवालाई अपराध बाट बचाउन कानुन बुझाउनुपर्ने बताए ।

कानुनले दिएका अवसर र अधिकार बारे थाहा नहुँदा निराशा बढेको जिकिर गर्दै उनले कानुनप्रदत्त अधिकार प्रयोग गर्न सचेतना बढाउनुपर्ने प्रष्ट पारे ।

देशमा तीन तहका सरकार रहेका र तीनै तहले कानुन बनाउने र लागू गर्ने भएकोले कानुन सबैले जानून भन्ने कुरामा पनि उनले जोड दिए । थाहा नभएपनि कानुनले उन्मुक्ति नदिने हुँदा कानुन बुझ्नुको बिकल्प नभएको उनले बताए ।

सरकार र समाजले बिकासलाई भौतिक पूर्वाधारको रुपमा मात्र बुझ्दा समस्या भएको बताउँदै बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका नेता ढकालले मानवीय र सामाजिक बिकासमा कम ध्यान दिइएको प्रति चिन्ता ब्यक्त गरेका थिए ।

सो अवसरमा मध्यपुर थिमि नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्रप्रसाद भट्ट र नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कोषाध्यक्ष संजीप घिमिरे शुभचिन्तकले कानुनबारे थाहा नहुँदा अपराधी करार हुन र सजाय पाउन बाध्य मानिसका उदाहरण प्रस्तुत गर्दै कानुनी ज्ञान बाढ्नु पनि अपराध न्यूनीकरणको उपाय हुनसक्नेमा जोड दिए ।

संविधान सभा सदस्य उमा कपालीको अध्यक्षतामा मंगलबार शुरु कानुनी सचेतिकरण कार्यक्रम दुई दिनसम्म सन्चालन हुने महिला बिकास केन्द्रकी सचिव राजेश्वरी शिल्पकारले बताएकी छन् ।

संविधान सभा सदस्य सत्यलाल मूलले सहजीकरण गर्ने सचेतिकरण कार्यक्रममा वरिष्ठ अधिवक्ता हरिराम लवजू, बागमती प्रदेश सभाकी सदस्य भुवनकेशरी श्रेष्ठ भावना, मध्यपुर थिमी नगरपालिकाकी सामाजिक बिकास शाखा प्रमुख रेजिया चौधरी र सामाजिक ब्यक्तित्व कृष्णलाल गोजा लगायतले कानुनी अधिकारबारे अवगत गराउँदै महिला र युवाको दैनिकीमा आवश्यक कानुनबारे प्रशिक्षित गराइने बताइएको छ ।

कार्यक्रममा करिब ४ दर्जन युवा, विद्यार्थी र महिला सहभागी छन् ।