भक्तपुर । भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता शुरु भएको छ । भक्तपुर नगरपालिका आयोजक रहेको प्रतियोगिता नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ले शनिवार उद्घाटन गरेका छन् ।
शनिवार अपराह्न सहिद स्मृति खेलमैदानबाट शुरु प्रतियोगिता सोमबार सम्म सञ्चालन हुने वडाध्यक्ष एवं खेलकुद समिति संयोजक श्याम कृष्ण खत्रीले जनाएका छन् । प्रतियोगितामा महानगर र उपमहानगरसहित १८ वटा नगरपालिकाका १ सय ५८ खेलाडीले प्रतिस्पर्धा गर्ने उनले बताए ।
”प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: रु ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाण प्रदान गरिने छ ।” खेलकुद संयोजक खत्रीले भने ।
हरेक बर्ष कुनै एक खेलको अन्तर नगर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको भक्तपुर नगरपालिकाले यो वर्ष अन्तर नगर जिम्नास्टिक प्रतियोगिता आयोजना गरेको र यो सबै चुनावी प्रतिवद्धता अनुरुप भैरहेको नगर प्रमुख सुनिल प्रजापतिको भनाइ छ ।
”शिक्षा, स्वास्थ्य, सम्पदा र पूर्वाधार निर्माणको क्षेत्रमा उदाहरणीय बनेको भक्तपुर नगरपालिका खेलकुद क्षेत्रमा पनि उदाहरण प्रस्तुत गर्न चाहन्छ, राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी उत्पादनमा योगदान गर्ने उदेश्यले हामी प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दैछौं ।” नगर प्रमुख प्रजापतिले भने ।
शनिवार प्रतियोगिता उद्घाटन गर्दै संविधान सभा सदस्य समेत रहेका नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘खेलकुद स्मारिका-२०८१’को बिमोचन समेत गरे ।
सो अवसरमा अध्यक्ष बिजुक्छेँले खेलकुदले शरीरका अंग प्रत्यंगहरुलाई चलायमान बनाई स्फूर्ति बढाउने मात्र नभई शारारिक र मानसिक स्वास्थ्य समेत बलियो बन्ने बताए । राष्ट्रलाई विश्वमाझ चिनाउने माध्यम पनि खेलकुद भएको भन्दै उनले तीनै तहको सरकारले खेलकुदको बिकासमा पर्याप्त ध्यान पुर्याउनपर्नेमा जोड दिए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, नेपाल जिम्नास्टिक संघका महासचिव मुकुन्दराज शर्मा र जिल्ला जिम्नास्टिक संघका अध्यक्ष दिपककृष्ण प्रजापति लगायतले प्रतियोगिताको महत्वमाथि प्रकाश पारेका थिए ।