काठमाडौं । कानुन ब्यवसायी अधिवक्ताहरुको छाता संगठन नेपाल बार एशोसियनको भावी नेतृत्वका लागि मतदान जारी रहेकाे छ।
शनिवार बिहान ८ः०० बजे देखि शुरु मतदानमा नयाँ नेतृत्व छनोट गर्न मतदाताहरु उत्साहित देखिएका छन् । अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।
भावी अध्यक्षका लागि व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ र बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रबीच तीब्र प्रतिस्पर्धा रहेको अधिवक्ता प्रकाश अवालेले बताएका छन् ।
बारकाे भावी अध्यक्षका लागि समूहगत दुईजनाको उम्मेदवारी परेपनि अन्य ३ जना स्वतन्त्ररुपमा मैदानमा उत्रिएका छन् । अध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ ।
जसअनुसार वरिष्ठ अधिवक्ता श्रेष्ठ र प्रा.डा मिश्रसंगै अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आषिश पौडेल पनि भावी अध्यक्षका लागि प्रतिस्पर्धामा रहेका छन् ।
नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा २५ पदका लागि ७५ जनाले उम्मेदवारी दिएका छन् । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार मतदाताको संख्या ९ हजार ९ सय ५७ रहेको छ ।
मतदानका लागि देशभर ३६ वटा मतदान केन्द्र रहेका छन् । काठमाडौँ मतदान केन्द्र भने सर्वोच्च अदालतको परिसरमा रहेको छ । यो केन्द्रमा करिब ६ हजार मतदाता रहेका प्रमुख निर्वाचन अधिकृत निरालाले जनाएका छन् ।