सर्बिया पठाइदिन्छु भन्दै ३२ लाख ठगेको आरोपमा भक्तपुरका माक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–५ घर भएका २८ वर्षीय सुरेश माक रहेका प्रहरीले जनाएको छ । माक कागेश्वरी मनोहरा नगरपालिका–४ बस्दै आएका र प्रहरीले उनलाई बौद्धबाट पक्राउ गरेको बताइएको छ । 

उनले सर्बिया पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ३२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।