सल्लाघारीमा हुने महोत्सवको नवौं संस्करण चैत २८ बाट शुरु हुने, पाँच लाखले अवलोकन गर्ने अपेक्षा

भक्तपुर  । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्ने उद्घोषसहित यस् वर्ष पनि भक्तपुरको सल्लाघारीमा महोत्सव हुने भएको छ । आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले पत्रकार सम्मेलन गर्दै महोत्सवले निरन्तरता पाउने घोषणा गरेको हो ।

भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव नाम दिइएको यो महोत्सवको नवौं सस्करण चैत २८ बाट शुरु हुने र ११ दिनसम्म चल्ने आयोजक संस्थाका अध्यक्ष संदिप महतले बताए ।

महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, भाडाकुडाको साथै बिभिन्न्न प्रकारका लत्ताकपडा, औद्योगिक उत्पादनको, सूचना तथा बिज्ञान प्रबिधि, अटो मोवाइल र आधुनिक कृषि औजार प्रर्दशनी तथा विक्री हुनेछ ब्यवस्थापन समितिका संयोजक दीपक थापाले बताए ।  

मेलामा १ सय ५० स्टल रहने र  स्थानीय हस्तकला, कृषि उत्पादन,मौलिक बस्तु र सेवालाई प्राथमिकता दिइने उनको भनाइ छ । 

महोत्सवमा साना बालबालिकाहरुको लागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउँ तथा विभिन्न प्रकारका बच्चाको खेलौना स्थलहरु साथमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कस समेत संचालन गरिने संयोजक थापाले पत्रकार सम्मेलनमा जानकारी गराए ।

पर्यटकीय गतिविधि, स्थानिय खाना महोत्सवका साथै दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती हुनेछ । राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य तथा फेशन र्‍याप तथा नृत्यहरु, नृत्य प्रतियोगिताले महोत्सव थप आकर्षण बन्ने आयोजकले विश्वास लिएको छ ।

 करिब पाँच लाख भन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ । अनावश्यक भिड कम गर्न महोत्सवमा रु ५० प्रवेश शुल्कको व्यबस्था गरिएको छ । जसमा विद्यार्थीलाई ५० प्रतिशत र जेष्ठ नागरिकलाई सतप्रतिशत छुटको व्यवस्था गरिएको संयोजक थापाले जनाएका छन् ।