काभ्रेका जिसस प्रमुख पक्राउ, आजबाट हुने भनिएको युवा महोत्सव स्थगित

काभ्रेपलान्चोक । काभ्रेका जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् । बैंकिङ कसुर सम्बन्धी मुद्दामा जिसस प्रमुख गौतम पक्राउ परेका हुन् ।

प्रहरीले गौतमलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि बानेश्वर प्रहरी बृत्तमा राखेको बताइएको छ ।

बुधबार प्रहरीले काठमाडौबाट उनलाई पक्राउ गरेपछि आज बिहीबारबाट काभ्रेमा हुने भनिएको युवा महोत्सव समेत स्थगित भएको छ ।

आज चैत १४ देखि पाँच दिनसम्म धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय परिसरमा विश्व युवा महोत्सव गरिने तयारी थियो ।

७५ देशका प्रतिनिधि, २ सय बढी वक्ता र एक लाख युवा सहभागिता हुने भनिएको सो कार्यक्रमका परिकल्पनाकार जिसस प्रमुख गौतमको पक्राउ संगै स्थगित भएको आयोजकले जनाएको हो ।

जिसस समन्वयकारी भूमिका भएपनि गौतम कार्यकारी झैँ जिल्लाका गतिविधि गर्ने र आफ्नो हस्तक्षेप बढाउन खोज्ने प्रमुख हुन् । उनको पक्राउ भने ब्यक्तिगत आर्थिक कारोबारका कारण भएको जिसस श्रोतले जनाएको छ ।

उनी नेकपा एकीकृत समाजवादीका तर्फबाट जिसस प्रमुख निर्वाचित बन्न सफल भएका थिए ।

अपडेट : जिल्ला समन्वय समिति काभ्रेको प्रमुख दीपककुमार गौतमलाई प्रहरीले रिहा गरे संगै स्थगित गर्ने भनिएको बिश्व युवा महोत्सव बिहीबार साँझ उद्घाटन गरिएको छ ।

जिससको आयोजना रहेको सो कार्यक्रम धुलिखेलमा  बिहीबार अबेरगरी प्रमुख गौतम आफैले उद्घाटन गरे । ब्यापक सहभागिता अपेक्षा गरिएको कार्यक्रममा प्रमुख नै प्रहरी नियन्त्रणमा परेपछि संचालनसम्बन्धि अन्योलता भएको र सहभागिता सोचे जस्तो कम हुन पुगेको बताइन्छ । यद्यपि ५० देशका प्रतिनिधिसहित स्वदेशका सफल र सक्रिय युवाहरूको प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ ।

बिदेशबाट युवा प्रतिनिधि आइसकेका कारण पनि स्थगित नगर्न प्रेसर परेको थियो । गौतमले आर्थिक लेनदेन सम्बन्धी बिबाद मिलाएपछि नियन्त्रणमा लिएको एकैदिनमा प्रहरीले रिहा गरेकोलेकार्यक्रम स्थगित गर्न नपरेको बताइएको छ ।