एसईई परीक्षार्थीलाई बुढीगण्डकीले बगायो

गोरखा । एसईई परीक्षा दिन आएका एक विद्यार्थीको बुढीगण्डकी नदीमा डुबेर ज्यान गएको छ । ज्यान गुमाउने गोरखा जिल्लाको आरुघाट गाउँपालिका-१ का १६ वर्षीय यूनिष गुरुङ हुन् ।

प्रहरीका अनुसार गुरुङ एसईई परीक्षा दिन सोही गाउँपालिकाको वडा नम्बर ४ थुमी आएका थिए। बुधबार साँझ करिब साढे ६ बजेतिर उनी बुढीगण्डकी नदीमा पौडी खेल्न गएका बेला नदीले बगाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

इलाका प्रहरी कार्यालय आरुघाटका अनुसार खबर प्राप्त भएपछि स्थानीय तथा सुरक्षाकर्मीहरू उद्धार कार्यमा जुटेका थिए। घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूका अनुसार गुरुङ पौडी खेल्ने क्रममा एक्कासी नदीको तेज धारमा परेका थिए।

प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीका अनुसार खोजीकार्यपछि उनको शव फेला परेको बताए । “घटनाबारे थप अनुसन्धान भइरहेको छ,” उनले भने ।