सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारीको बिरासत कायमै, नरेन्द्र नेतृत्वको प्यानल निर्वाचित

भक्तपुर । स्ववियु निर्वाचन अन्तर्गत भक्तपुरको सानोठिमी क्याम्पसमा नरेन्द्र सिंह ठगुन्ना नेतृत्वको पूरै प्यानलले बिजय हासिल गरेको छ । अखिल (क्रान्तिकारी) र नेविसंघ गठबन्धनको पूरै प्यानल उम्मेदवार निर्वाचित भएका हुन् ।

अखिल क्रान्तिकारीका ठगुन्ना ३ सय ९७ मत सहित अध्यक्ष निर्वाचित भएका निर्वाचन समितिले जनाएको हो । उनले निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका निराजन थापालाई भारी मतले पराजित गरे । थापा १ सय ७६ मतमा सीमित रहे । मंगलबार सम्पन्न मतदानमा कूल ७ सय ५७ मत खसेको थियो ।

त्यस्तै सचिवमा नेविसंघका दिक्पाल कार्की निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी पेशल लुइँटेललाई पराजित गरे । कोषाध्यक्षमा अखिल क्रान्तिकारीकै कवीर मानन्धरले रचना थापालाई पछि पार्दै बाजी मारे ।

सदस्यहरुमा समेत सबै सोही प्यानलबाट निर्वाचित भएका बताइएको छ ।

सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसंघ गठबन्धनको यो तेस्रो जीत हो । यस अघि पनि लगातार निर्वाचनमा अखिल क्रान्तिकारी र नेविसंघले प्यानल बनाई निर्वाचित हुँदै आएका थिए ।

यस् पटक केन्द्रीय सत्ता गठबन्धनलाई अस्वीकार गर्दै नेविसंघको क्याम्पस इकाईले अखिल (क्रान्तिकारी)संगै प्यानल बनाएपछि निर्वाचन अघि नै यो प्यानलले जित्ने आँकलन गरिएको थियो ।

वीरेन्द्र बस्नेतले पहिलो पटक अध्यक्ष जित्दै सानोठिमी क्याम्पसलाई अखिल क्रान्तिकारीको किल्ला बनाएका थिए । त्यस यता नेविसंघसंग सहकार्य गर्दै अखिल क्रान्तिकारीले आफ्नो बिरासत बचाइरहेको छ ।

सत्ता गठबन्धन गरेका नेविसंघ र अनेरास्ववियुलाई बिभाजित गरी सानोठिमीमा निरन्तरको एकता प्रदर्शन गर्दै जीत हासिल गर्नु उपलब्धीपूर्ण भएको अखिल क्रान्तिकारीकी सानोठिमी क्याम्पस समितिकी अध्यक्ष चन्द्रकला बास्तोलाले बताएकी छन् ।

हेर्नुस् सानोठिमी क्याम्पसमा निर्वाचित प्यानल

 

प्रत्यक्ष तर्फ मुल नेतृत्व नै जित्न सफल अखिल क्रान्तिकारी सानोठिमी क्याम्पसमा समानुपातिक तर्फ पनि पहिलो ठुलो संगठन बन्न सफल भएको छ ।

समानुपातिक तर्फ अखिल क्रान्तिकारीले ३ सय ४२ मत प्राप्त गरी पहिलो ठुलो संगठन बन्न सफल हुँदा नेविसंघ १ सय ९५ मतसहित दोश्रो र अनेरास्ववियु  १ सय ६८ मतसहित तेस्रो भएको छ ।

नेविसंघ तेस्रो बाट दोश्रोमा चढ्न सफल हुँदा अनेरास्ववियु तल झरेको विद्यार्थी नेता दानबहादुर रावतले जानकारी दिए ।