नेता बन्न होइन, सिस्टम बसाल्न भक्तपुर क्याम्पसमा आकाशको उम्मेद्वारी : यस्ता छन् योजना

भक्तपुर । नेपालमा कलेजलाई नेता उत्पादन गर्ने कारखाना र स्ववियु निर्वाचनलाई त्यसको मेसिन मानिन्छ । तर, भक्तपुर क्याम्पसमा स्ववियुको अध्यक्षका उम्मेदवार भएका आकाश गजुरेल भने आफू नेता बन्न उम्मेदवार नभएको बताउँछन् ।

पढाइमा तेज, स्वभावमा मिलनसार र योजनामा अब्बल आकाश भक्तपुर क्याम्पसमा शैक्षिक सिस्टम बसाल्न आफूले अध्यक्ष पदमा उम्मेद्वारी दिएको दावी गर्छन । विद्यार्थीको फाराम भरिदिन, चिया खुवाउन र दलगत विभेदको बिजारोपण गर्नमै स्ववियु सीमित भएकोले आफूले सिस्टम बसाल्न उम्मेद्वारी दिएको उनको दावी छ ।

राजनीतिक बिचार भन्दा अगाडि विद्यार्थी हकहितलाई राख्ने र कुनैपनि प्रकारको विभेदलाई अन्त्य गर्ने अठोट बोकेर उनी चुनावी मैदानमा छन् । भक्तपुरको चाँगुनारायण-८ स्थायी घर भएका आकाशको एउटै मात्र अर्जुन दृष्टि छ -कलेजलाई मन्दिर र स्ववियुलाई त्यसको पूजारी जस्तो पवित्र र सबैले श्रद्धा गर्ने बनाउने ।

पारदर्शीता र निस्पक्षता प्रमुख एजेन्डा
आकाशले क्याम्पसको शुल्क, छात्रवृत्ति, भर्ना, परीक्षा, आम्दानी र खर्च लगायतका आर्थिक एवं प्रशासनिक कार्यमा पारदर्शीता र निस्पक्षता आफ्नो प्रमुख एजेन्डाका रुपमा अघि सारेका छन् ।

योग्य प्राध्यापक र प्रशिक्षिक
भनसुन र भागबण्डामा नभई योग्यताको आधारमा क्याम्पसका प्रमुख तथा प्राध्यापक र प्रशिक्षिकको व्यवस्था र कक्षामा उनीहरुको नियमितता र सिकाइ उपलब्धीलाई संयन्त्र बनाएर मूल्यांकन र व्यवस्थापन गर्ने प्रणाली बिकास गर्ने योजना रहेको उनले बताएका छन् ।

गुनासो व्यवस्थापन
विद्यार्थीका समस्याको रेकर्ड राख्ने र त्यसको समाधान गर्ने प्रणाली बिकास गर्दै गुनासो गर्न नपर्ने गरी शैक्षिक वातावरण बिकास गर्ने योजना उनले अघि सारेका छन् ।

फिडब्याक सिस्टम
प्राध्यापक तथा प्रशिक्षकहरुले विद्यार्थीको अध्ययन र आचरणबारे तथा विद्यार्थीले प्राध्यापक प्रशिक्षकहरुको अध्यापन र व्यवहारबारे पृष्ठपोषण गर्ने फिडब्याक सिस्टम बनाउने र दुबैलाई सिक्षण सिकाइमा जिम्मेवार बनाउने उनको योजना छ ।

भौतिक संरचना सुधार
क्याम्पसको भवन, फर्निचर, शौचालय, पुस्तकालय, प्रयोगशाला, खेल मैदान लगायत भौतिक संरचनालाई व्यवस्थित बनाउने र यसको वातावरणलाई प्राकृतिक सौन्दर्यकरण गर्ने उनको योजना छ ।

विद्यार्थी क्लवहरु गठन गर्ने
उनले विद्यार्थीको रुची अनुसार सांगीतिक क्लव, स्पोर्ट्स क्लव, साहित्यिक क्लव, विज्ञान क्लव, आइटी क्लव, बिजनेश क्लब लगायतका क्लवहरु गठन गरी रुची अनुरुप विद्यार्थीको एटेचमेण्ट बढाउने र एक अर्काको ज्ञान आदानप्रदानबाट सो क्षेत्रमा उत्कृष्ट गर्ने वातावरण तयार पार्ने बताएका छन् ।

डिजिटल प्रविधिमा जोड
उनले क्याम्पस प्रशासनलाई प्रविधि मैत्री बनाउन पहल गर्ने र भर्ना, शुल्क भुक्तानी लगायतलाई दिजितलाइजेशन गर्ने बताएका छन् । त्यतिमात्र होइन, स्ववियुमार्फत डिजिटल माध्यमबाट आवश्यक विषयमा अतिरिक्त कक्षा संचालन गर्ने उनको सोच छ ।

करिअर काउन्सेलिङ्ग र मनोचिकित्सा सेवा
विद्यार्थीहरु आफ्नो करिअरको विषयलाई लिएर बढी चिन्तित हुने हुँदा विज्ञद्वार काउन्सेलिङ्ग सेवा प्रदान गर्ने र पढाइको प्रेसरले हुनसक्ने मानसिक समस्या रोक्न सामाजिक संघ सस्था एवं स्वास्थ्य केन्द्रसँग सहकार्य गरी मनोचिकित्सा सेवा र योगध्यान शिविर संचालन गर्ने सम्मका योजना उनीसंग छन् ।

क्यान्टिन होइन, भान्सा घर
क्याम्पसको क्यान्टिनलाई अस्वस्थकर खानेकुरा बेच्ने थलो नभई आफ्नै भान्सा घर जस्तो बनाउने र उचित मूल्यमा घरकै जस्तो खानेकुरा खुवाउन प्रेरित गर्ने उनी बताउँछन् । बार अनुसार मकै बार, गहुँ बार, कोदो बार लगायतका बार बनाएर रैथाने खानेकुरालाई प्राथमिकता दिने उनले दावी गरे ।

सुरक्षा र सुबिधा
क्याम्पस जान आउँन यातायात आवश्यक पर्ने विद्यार्थीलाई सोको व्यवस्था गर्न र जिल्ला बाहिरका विद्यार्थीका लागि होस्टलको व्यवस्था गर्न स्ववियुले पहल गर्नुपर्ने र र त्यसका लागि आफूसंग स्पष्ट मार्गचित्र भएको उनको भनाइ छ । साथै, उनले विद्यार्थीलाई झैझगडाबाट टाढा राख्न नैतिक शिविरहरु संचालन गरिने जनाएका छन् ।

क्रिटिकल थिन्किंग र सोसलाइजेशन
विश्वविद्यालय र शिक्षा परियोजना संगको सहकार्यमा विद्यार्थीहरुलाई विश्लेशाणात्मक र सृजनात्मक शैलीले सोच्न सिकाउने र समाजमा कसरी मिलेर बस्ने र सामाजिक कार्यहरुमा कसरी योगदान गर्ने भन्ने शिक्षा दिंदै समाज, देश, राष्ट्र र मानवतावादी बन्न प्रेरित गर्नेखाने कार्यशालाहरु संचालन गर्ने उनले बताएका छन् ।

पढ्दै कमाउदै गर्ने अवसर र रोजगार मेला
स्ववियुले इच्छुक र आवश्यक विद्यार्थीको पहिचान गरी उनीहरुको योग्यता अनुरुप अनुकुल समयमा रोजगारी दिन इच्छुक कम्पनी, संघसस्था र व्यवसायलाई लक्षित गरी डिजिटल प्लेटफर्मको बिकास गरी जोड्ने पुलको काम गर्ने उनले योजना अघि सारेका छन् । त्यस्तै हरेक वर्ष रोजगार मेला आयोजना गरी विद्यार्थीलाई रोजगारी संग जोड्ने उनले बताएका छन् ।

आकाशको टिमबाट सचिवमा माया योञ्जन छिन भने कोषाध्यक्षमा सुप्रिम घिमिरे छन् ।त्यसैगरी सदस्यहरुमा दीपक परियार, निशान सुवेदी ,विमल पराजुली, सूर्य योञ्जन ,सास्वत कायस्थ, छिरिङ्ग तामाङ्ग, हिमाल राई र जोषा जर्गामगर रहेका अखिल (क्रान्तिकारी) भक्तपुर क्याम्पस समितिका अध्यक्ष सागर बनमालाले बताए ।