काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले नागरिक लगानी कोषको रकम नागरिककै हितमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्। सोमबार काठमाडौंमा आयोजित नागरिक लगानी कोषको ३५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले कोषको लगानीलाई उत्पादनशील क्षेत्रमा लगाउनुपर्ने आवश्यकता औँल्याए।
अर्थसचिव उपाध्यायले नागरिकको बचतलाई सामाजिक सुरक्षाका कार्यक्रमहरूसँग जोडेर सरकारले प्राथमिकता दिएका क्षेत्रहरूमा लगानी गर्न सुझाव दिए। उनले सञ्चयकर्ताको हितसँगै नागरिक बचतलाई सही रूपमा परिचालन गरेर आर्थिक वृद्धि र सामाजिक सुरक्षालाई प्रवर्द्धन गर्न आवश्यक रहेको बताए। कोषको लगानी उत्पादनशील क्षेत्रमा विस्तार गर्दै मुलुकको समग्र अर्थतन्त्रमा योगदान पुर्याउनुपर्ने उनको भनाइ छ।
कार्यक्रममा नागरिक लगानी कोषका अध्यक्ष डा. सूर्यबहादुर थापाले चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको कुल मौज्दात २ खर्ब ७३ अर्ब ७२ करोड रुपैयाँ पुगेको जानकारी दिए। उनले हालसम्म २ खर्ब ६४ अर्ब ७८ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरिएको उल्लेख गरे। उनका अनुसार कोषले कृषि, पर्यटन, ऊर्जा, र भौतिक पूर्वाधार निर्माणजस्ता उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै जाने नीति लिएको छ। कोषको कार्य सम्पादन सुधार गर्न उच्च योगदान आवश्यक रहेको उनले बताए।
कार्यक्रममा सहभागी वक्ताहरूले देशको आर्थिक विकासमार्फत बेरोजगारी समाधान गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनीहरूले रोजगारी सिर्जना नगरी दिगो विकास र स्थायित्व प्राप्त गर्न नसकिने धारणा राखे। नागरिक लगानी कोषले आगामी दिनमा व्यापक सुधारसहित उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।