भक्तपुर । भक्तपुरको मध्यपुरथिमि- ४ स्थित एक दुनोट फ्याक्ट्रीबाट सल्केको आगोले ११ लाख रुपैयाँ बढी धनमालको क्षति पुर्याएको छ । आइतबार पौने १ बजे २३ वर्षिय सञ्चालक सनिस श्रेष्ठको दुनोट फ्याक्ट्रीमा आगलागी हुँदा आधा दर्जन ब्यवसायीले क्षति ब्यहोर्नु परेको हो ।
करेन्ट सर्ट भई दुनोट फ्याक्ट्रीमा आगलागी भएको र आसपासमा रहेका पसल तथा व्यवसायहरुमा समेत सल्केको जिल्ला प्रहरी परिसर परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी ढुन्डीराज नेउपानेले जानकारी दिए ।
आगलागीबाट करिब ११ लाख ७२ हजार ७ सय रुपैयाँँ बराबरको धनमाल जली नष्ट भएको उनले बताएका छन् ।
सनिसको दुनोट फ्याक्ट्रीमा १ लाख ३८ हजार बराबरको धनमाल जली नष्ट भएको छ भने समित बाँनियाको खाजा घरमा करिब ३ लाख क्षति पुगेको छ ।
सुमन श्रेष्ठलेको मोटरसाइकल वर्कसपमा ८ हजार बराबर धनमाल जली नष्ट हुँदा बिक्रम कार्कीको मसला उद्योगमा ३ लाख १९ हजार बराबर धनमाल जली नष्ट भएको अनुमान छ । त्यसैगरी राजेन्द्र कुमार श्रेष्ठलेको किराना पसलमा करिब ४ लाखको क्षति भएको बताइएको छ ।
आगलागी लगत्तै जुद्ध बारुण यन्त्रको दमकल घटनास्थल पुगेको थियो । दमकल, प्रहरी र स्थानीयको सक्रियताले १ घण्टामा आागो नियन्त्रणमा आएको बताइएको छ ।