काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयललाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न उनले आग्रह गरेका हुन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन को १६ औं राष्ट्रिय महाधिवेशनलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर आफू नै छक्क परेको पनि खुलासा गरे । निजी विद्यालयलाई गुठीमा लैजानुपर्ने पक्षमा आफू नरहेको भन्दै उनले संचालकहरुलाई आश्वस्त समेत पारे ।
“शिक्षा क्षेत्रमा तपाईंहरु लगानी गर्नुस्, लगानी गरेपछि कानुनले नाफा लिन पाइन्न भन्दैन ।” प्रधानमन्त्री ओलीले स्पष्ट पारे- सेवा दिनुस्, तपाईंहरु जोगी पनि नहुनुस् ।
प्रधानमन्त्री ओलीले निजी विद्यालयकै कारण एसईईको नतिजामा बढोत्तरी हुने गरेको पनि बताए । विद्यार्थीलाई देशभक्ति, स्वाधीनता, वीरताको इतिहास सिकाउन र अरुको दान दक्षिणामा भर नपरी आफ्नै पाखुरामा विश्वास गर्नसक्ने बनाउन उनले जोड दिएका थिए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले प्याब्सन गौरव, प्याब्सन रत्न आदि सम्मानबाट पूर्व अध्यक्ष भोजबहादुर शाह, लक्ष्यबहादुर केसी, डा विजय सम्बाहाम्फे लगायतलाई सम्मान गरे ।







