सर्लाही, २३ फागुन । नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान आज सर्लाही जिल्लामा आइपुगेको छ।
फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरीहुँदै सर्लाही आएको हो ।
अभियानको जिल्ला बढ्दै गर्दा जनसहभागिता पनि बढ्दै गएको छ। विहान ६ बजे मर्निङ वाक गरेर सुरु गरिने अभियानका कार्यक्रम राति ९ बजेसम्म चल्ने गरेका छन् ।
अभियानको क्रममा सडकैभरि फूलमाला बोकेर उभिएका सयौं कार्यकर्ता र शुभेच्छुकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित नेताहरुलाई स्वागत गर्ने गरेका छन् । स्वागत गर्न सबै उमेर समूहका पुरुष र महिलाको व्यापक सहभागिता छ ।
स्वागतपछि चोकचोकमा चोक सभा हुने गरेको छ भने एक जिल्लामा एक मुख्य सभा हुने गरेको छ। सर्लाहीको सदरमुकाम मलङ्गवामा मुख्य सभा हुदैछ ।
सर्लाहीमा प्रवेश गरेपछि हिजोदेखि विभिन्न स्थानमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका स्थानीय कमिटीहरुले संयुक्त स्वागत कार्यक्रम राखेका छन्। सो पार्टीका अध्यक्ष महेन्द्रराय यादव पनि अभियानमा सहभागी छन् । सो पार्टी माओवादी केन्द्रसंग एकताको अन्तिम तयारीमा छ ।
हुलाकी मार्गमा पर्ने स्थानीय तहहरुले अभियान टोलीलाई स्वागत गरिरहेका छन् । जुन दलबाट जितेका जनप्रतिनिधि भए पनि पूर्वप्रधानमन्त्रीसहित देशका शीर्ष नेता गाउँमा आउनुलाई अवसरको रुपमा लिएर उनीहरुले स्वागत गर्ने गरेका छन् । सर्लाहीमा माओवादी केन्द्रले आधा दर्जन पालिका जितेको छ । ती पालिका उत्सवमय भएका छन् ।
अभियान टोलीले जनताकै घरमा सामूहिक रुपमा खाना खाने र बाँडिएर बस्ने गरेको छ। आज सर्लाहीमा अभियान टोली विहानै पर्सा गाउँपालिकाको मुस्लिम वस्तीमा पुगेर रमजानको शुभकामना आदान प्रदान गरेको थियो ।
पर्सा गाउँपालिकामा पाइला टेक्ने प्रचण्ड पहिलो शिर्ष नेता बन्न पुगेका छन् । टिभीमा देखेका र रेडियोमा सुनेका नेताहरु आफैसंग देख्दा स्थानीय दङ्ग परेका थिए ।
त्यसपछि चन्द्रनगर, ब्रह्म्पुरी गाउँपालिकाका विभिन्न स्थानमा जनभेट्घाट, स्वागत र चोकसभा सप्पन्न भएका छन् भने मङ्गलवामा जनसभा जारी छ ।
सर्लाहीमा साहुकार र मिटर ब्याज पिडित नागरिक धेरै रहेका र प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले सो समस्या समाधानमा कानुन नै ल्याएकोले पनि सर्लाहीमा माओवादी केन्द्रको क्रेज बढेको छ ।
आजै सर्लाहीका कार्यक्रम सकेर अभियान टोली रौतहट जाने बताइएको छ। रौतहट जाँदा राजमार्गमै माओवादी केन्द्रले जितेका सर्लाहीका दुई पालिका पर्दछ्न । हरिवन र बागमती नगरपालिका हुँदै टोली रौतहट पुग्नेछ ।