सर्लाही । “रक्तदान जीवन दान” भन्ने मुल उदेश्यसहित सर्लाहीको लालबन्दी-२ जुटपानीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । जुट्पानी युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय र सुरक्षाकर्मीसहित चार दर्जन बढीले रक्तदान गरेका क्लबका अध्यक्ष इरफान अन्सारीले जानकारी दिए । “४७ जना पुरुष र ५ जना महिला गरि जम्मा ५२ जनाले रक्तदान गर्नुभयो।” अध्यक्ष अन्सारीले भने ।
रक्तदान प्रति जनचेतना जागृत गराउन र रगतको अभाव पूरा गर्न टोलमै गरिने यस्ता कार्यक्रमले मद्दत गर्ने स्थानीय युवा पवन काफ्ले बताउँछन् ।

नेपाल रेडक्रस सोसाइटी सर्लाहीकी उपसभापति भवानी कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा जनकपुरकाे प्राविधिक टोली खटिएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी उपशाखा हरिवनका सभापति एवं बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकका साथै स्थानीय नेता एवम् समाजसेवीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
रक्तदानमा सहभागीहरु प्रमाण पत्रद्वारा सम्मानित भएका थिए ।