जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता गर्दै राष्ट्रकाे लागि दुई घन्टा अभियान

राष्ट्रकाे लागि दुई घन्टा अभियानले भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ । वातावरण संरक्षण र मानवसेवालाई मूलमन्त्र बनाएर काम गरिरहेको अभियान एक सय हप्ता पूरा गरेको अवसरमा प्रतियोगिता आयोजना गरिने भएको हो ।

‘वातावरण प्रदुषण र प्रकोप न्यूनीकरणमा मानवीय भूमिका’ विषयमा चित्रकला केन्द्रीत रहनुपर्ने अध्यक्ष मधु ढुङ्गेलले बताएका छन् । प्रतियोगिताको माध्यमबाट विद्यार्थीलाई वातावरण संरक्षणप्रति सचेत र जागरुक बनाउने उदेश्य रहेको उनको भनाइ छ ।

प्रतियोगिता यहीँ माघ१५ गते सञ्चालन हुने र कक्षा ६ देखि १० सम्मका विद्यार्थीले प्रतिस्पर्धा गर्न पाउने राष्ट्रको लागि दुई घन्टा अभियानका उपाध्यक्ष नरेश रन्जितले बताएका छन् । एक विद्यालयबाट एक छात्र र एक छात्रा गरि दुई जनाले मात्र प्रतिस्पर्धा गर्न पाउने उनले जानकारी दिए । नयाँ ठिमीस्थित मिडभ्याली कलेजको प्राङ्गणमा प्रतियोगिहरुले प्रत्यक्ष चित्र बनाई प्रस्तुत गर्नुपर्ने र सोका लागि आर्टशाला नेपालले समेत सहकार्य गरेको रन्जितले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजारसहित प्रमाणपत्र, द्वितीय हुनेलाई १५ हजारसहित प्रमाणपत्र र तृतीय हुनेलाई रु १० हजार सहित प्रमाणपत्र प्रदान गरिने अभियानका महासचिव नवराज काफ्लेले जनाएका छन् ।