नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-५ श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठ हुन् ।

उनलाई नक्कली प्रमाण पत्र लिएको आरोपमा सोमबार नै प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू रहेको प्रहरीको भनाइ छ ।

 सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त शैक्षिक योग्यताको प्रमाणपत्रहरू सम्बन्धी अनुसन्धान गर्दा ब्याचलर डिग्री इन बिजनेस स्टडिज (बिबिएस) र मास्टर डिग्री इन बिजनेस स्टडिज (एमबिएस)को ट्रान्सक्रिप्ट त्रिभुवन विश्वविद्यालयको अभिलेखमा भिडाइ हेर्दा मेल नखाएको भनि त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय परीक्षा प्रशासन महाशाखाको पत्रबाट जानकारी भए पश्चात प्रहरीले उनलाई काभ्रेपलान्चोक धुलीखेल नगरपालिका-५ बाट पक्राउ गरेको जानकारी गराइएको छ । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।