पत्रकारलाई सहयोग गर्न प्रेस सेन्टर काठमाडौमा रु ५ लाखको अक्षय कोष

काठमाडौं । प्रेस सेन्टर नेपाल काठमाडौंले रु ५ लाखको अक्षय कोष बनाउने भएको छ । आफ्ना सदस्यहरुलाई भैपरीआउने आर्थिक सहयोगका लागि अक्षय कोष बनाइने भएको हो ।

नव निर्वाचित प्रेस सेन्टर नेपाल, काठमाडौंको बुधबार बालाजुमा सम्पन्न पहिलो कार्यसमिति बैठकले रु ५ लाखको अक्षय कोष बनाउने निर्णय गरेको अध्यक्ष राममणि घिमिरेले बताएका हुन् । सो कोषका लागि आजै आफूले रु ५० हजार, उपाध्यक्ष मनिका खतिवडाले ५ हजार र सदस्य अङ्कध्वज परियारले रु १० हजार योगदान गरेको पनि घिमिरेले बताएका छन् । केहि महिनामै कोषले पूर्णता पाउने उनले जानकारी गराए ।

त्यस्तै बालाजु बैठकले हेल्प डेस्क स्थापना गर्ने पनि निर्णय गरेको कार्यसमिति सदस्य मन्जु घिमिरेले बताइन् । जिल्ला बाहिरका पत्रकारलाई काठमाडौंबाट आवश्यक सहयोगका लागि सो डेस्कले समन्वय गर्ने उदेश्य रहेको उनको भनाइ छ ।

प्रेस सेन्टर नेपालको उपत्यका प्रदेश समितिका अध्यक्ष नवराज दाहालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको बताइएको छ ।