भक्ती रिजाल, सर्लाही । स्वर्गीय रोनिस कार्की स्मृति प्रतिष्ठानले हरिवन नगरपालिका वडा नम्बर ९ डुम्रीघारीमा रहेको देउराली प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा ट्र्याक सुट तथा शैक्षिक सामग्री बितरण गरेको छ ।
स्वर्गीय रोनिस कार्की स्मृति प्रतिष्ठानको आयोजनामा गरेको कार्यक्रममा बुधबार कक्षा १ देखि कक्षा ५ सम्मका ४० जना छात्र छात्रालाई न्यानो कपडा ट्र्याक सुट तथा शैक्षिक सामग्री बितरण गरिएको संस्थाका सदस्य युवराज भण्डारीले बताए ।
स्वर्गीय रोनिस कार्की स्मृति प्रतिष्ठानले बर्षेनीजसो अभाव र समस्यामा रहेका विद्यालय र विद्यार्थी छनौट गरि वर्षेनी यसरी नै सहयोग गर्ने गरेको र आगामी दिनमा पनि सहयोग गरिरहने प्रतिष्ठानका अध्यक्ष बिनोद कार्कीले बताएका छन् ।
विद्यार्थीहरुलाई न्यानो कपडा ट्र्याक सुट तथा शैक्षिक सामग्री बितरण समारोहमा बोल्दै हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल)ले शिक्षा र स्वास्थ्यमा सुधार नल्याई समाजवादको मार्ग प्रसस्त गर्न नसकिने बताए । -हरिवन नगरपालिका भित्र सबैमा शिक्षाको पहुँच पुर्याउन नगरपालिका चनाखो रहेको पनि बुढाथोकीको भनाइ छ ।
कार्यक्रममा वडा नम्बर ९,का वडा अध्यक्ष कोकिलानन्द उप्रेती, वडा नम्बर ८ का वडा अध्यक्ष प्रज्वल ढुंगाना, युवा नेता यज्ञबिनोद ढुंगेल, महादेब जनता नमुना उच्च माविका प्रधानाध्यापक गिरीराज राना, देउराली प्राविका प्र.अ. समशेर सिंह राजबंशी पूर्व प्र .अ. यमनाथ उप्रेती शिक्षक हिमालराज दाहाल लगायतको उपस्तिथि रहेको थियो भने कार्यक्रम सञ्चालन समाजसेवी भरत कुमार कार्कीले गरेका थिए ।
स्वर्गीय रोनिस कार्कीको २०७५ साल आषाढ १० गते एसईई परीक्षा पास भएको उपलक्ष्यमा मन्दिर पुगेर फर्कदै गर्दा मोटरसाइकल दुर्घट्नामा परी निधन भएको थियो । उनकै स्मृतिमा परिवारले स्वर्गीय रोनिस कार्की स्मृति प्रतिष्ठानको स्थापना गरी शैक्षिक क्षेत्रमा सेवा पुर्याइरहेको छ ।