भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ५ समाज सुधारतर्फ अग्रसर भएको छ । आफ्नो टोल आफैले बनाउनु पर्छ भन्ने सोचका साथ वडावासीहरु एकजुट भएर लागेका छन् ।
वडामा रहेका टोल बिकास संस्थाले समग्र वडाको हितलाई आत्मसाथ गरि काम गर्ने गरेकाले पनि सिंगो वडा नम्बर पाँचको मुहार फेरिएको स्थानीय जनताको भनाइ छ ।
टोल बिकास संस्थालाई १२ समुहमा बिभाजन गरिएको छ । वडालाई प्लास्टिक मुक्त वडाका रुपमा स्थापना गर्दै ग्रीन भिलेजको अबधारणालाई अगाडि बढाउने सबालमा जनताको साथ र सहयोग रहेको वडा अध्यक्ष नागेन्द्र साहले जानकारी दिएका छन् । फोहोर ब्यबस्थापनमा वडाले उदाहरणीय सफलता पाइरहेको उनले दावी गरेका छन् ।
”घर-घरबाट जनता जागेका छन् । जनताको साथमा हातेमालो गरिएकोले सरसफाईमा उत्साह थपिएको छ ।”अध्यक्ष साहले भने ।
१२ वटा टोल बिकास संस्थाद्वारा आफ्नो टोल क्षेत्रको सिमाङ्कन गरिएको हुँदा सिंगो वडाको स्वामित्वमा अपनत्व थपिएको सिद्धार्थ टोल बिकास संस्थाका अध्यक्ष अम्मरलाल तामाङले जानकारी दिए ।
हरेक दिन कुनै न कुनै माध्यमबाट टोलको गतिविधिको रेखदेख देखि लिएर टोल सुरक्षाका साथै सामाजिक हितमा काम भैरहेको छ भन्दै प्रगती टोल सुधार संस्थाका अध्यक्ष मोहन फुयालले खुसी व्यक्त गरे ।
टोलबासीले स्वत:स्फूर्त रुपमा समाजसेवाको माध्यमबाट वडाको हितलाइ शिरमा राखेर काम गरेको पाउँदा आफुमा उत्साह थपिएको अध्यक्ष साहको भनाइ छ ।
हरिवन नगरपालिका भित्रका एघार वटा वाडाहरु मध्येको वडा नम्बर पाँच लाई नगरकै उदाहरणीय वडा बनाउने उद्देश्यका साथ युवाहरूको सहभागीतालाई उच्च प्राथमिकतापूर्वक अघि बढाईएको वडा सदस्य छ्याङदोर्जे लामाले बताए ।
वडा अन्तर्गतका टोल संस्थाले युवाहरुलाई लागू औषधको कुलत बाट बचाउने उपाय अपनाउनुका साथै समाजमा हुने जुन सुकै प्रकारका गलत गतिविधिका बिरुद्धमा डटेर कदम चाल्ने र टोल सरसफाइलाई महत्त्वका साथ अगाडी बढाउने कार्य गरेको वडा सचिब बिमला पौडेलले प्रष्ट पारेकी छन् ।