पुरुषको तुलनामा महिलाहरु रक्तदानमा पछि

 भक्तपुर । रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको देखिएको छ । पुरुषको तुलनामा महिलाहरु रक्तदानमा पछि परेका एक तथ्याङ्कले देखाएको हो ।

विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले बिहीवार गरेको पत्रकार सम्मेलनमा शाखाका अध्यक्ष परशुराम पाण्डेले सो तथ्यांक प्रस्तुत गरेका हुन् । सभापति पाण्डेका अनुसार १ वर्षमा भक्तपुर शाखाले रक्तदाताहरुबाट २५ हजार ९ सय ४० पिन्ट रगत संकलन गरेको छ । जसमा ५ हजार ५ सय ५७ पिन्ट रगत महिला रक्तादाताले दान गरेका देखिन्छ ।

भक्तपुर शाखामा कूल रक्तदातामा करिब २२ प्रतिशत मात्र महिला रक्तदाताको सहभागिता रहेको छ ।

उक्त अवसरमा सभापति पाण्डेले रक्तदान उत्सवको २ दशक पूरा भएकोमा सबै रक्तदातालाई धन्यवाद व्यक्त गरेका छन् । भक्तपुरमा रेडक्रसको शाखा बिक्रम सम्बत २०२५ सालमा स्थापना भै २०४५ सालबाट रक्त संचार सेवा र २०६० सालबाट रक्ततत्व निर्माण सेवा शुरु गरिएको सभापति पाण्डेले प्रष्ट पारेका छन् । सो अवसरमा सभापति पाण्डेले १ वर्षमा ५१ हजार १ सय ५१ पिन्ट रगत वितरण गरिएको समेत बताए ।

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार जिल्लाका सबै स्थानीय सरकारले नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा मार्फत आफ्ना नागरिकका  लागि निशुल्क रगत उपलब्ध गराएका छन् । जिल्लाबासी स्थानीयलाई नगरपालिकाले सोधभर्ना गर्ने गरी निशुल्क रगत तथा रक्त तत्व वितरण हुँदै आएको सभापति पाण्डेले बताए ।

भक्तपुर अस्पतालले २०७७ सालबाट प्रसुती सेवाको लागि सोधभर्ना गर्ने गरी रक्तासेवा लिएपछि त्यसैको अनुभवबाट भक्तपुरका स्थानीय सरकार संग सम्झौता गरिएको र यो कार्यक्रम असाध्यै प्रभावकारी भएको सभापति पाण्डेको भनाइ छ । उनका अनुसार बागमती प्रदेशका अन्य पलिकाहरु पनि यो कार्यक्रमप्रति आकर्षित देखिएका छन् ।

पत्रकार सम्मेलनमा शाखाका पूर्व सभापति एवं केन्द्रीय उपमहामन्त्री मनोज कुमार थापाले नेपाल रेडक्रस सोसाइटीको काम, कर्तब्य र अधिकार माथि प्रकाश पार्दै रक्तदान प्रति आम मानिसलाई उत्प्रेरित गर्दै रक्तदाताको संख्या बढाउँन पत्रकारिता जगतको निरन्तर सहयोग रहने बिश्वास व्यक्त गरे ।

सो अवसरमा जीवन दानको रुपमा रहेको रक्तदानप्रति मानिसलाई प्रेरित गर्नुपर्नेमा जोड दिइएको छ । एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शारिरमा कुनै हानी-नोक्सानी नहुने र उसले एकपटकमा ३ जना बिरामीको ज्यान बचाउन सक्ने बताइएको छ ।

शाखाका संचार संयोजक तुलसी नारायण दुम्याख्वको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन मन्त्री धर्म कार्कीले गरेका थिए भने सो अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका  अध्यक्ष जगत कृष्ण प्रजापति, चाँगुनारायण-२ का वडाध्यक्ष सोमप्रसाद प्रधानसहित नेपाल रेड्क्रस सोसाइटी भक्तपुर शाखाका पदाधिकारी एवं पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।