हरिवनमा बालिका समावेशी शिक्षा संजाल

प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवनमा बालिका समावेशी शिक्षा संजाल गठन तथा रणनीतिक योजना कार्यक्रम सम्पन्न भएको छ । बौद्धिक, शारीरिक तथा आर्थिक सामाजिक रुपले कमजोर, पछाडी पारिएका र अल्पसंख्यक जातजातिका बालिकालाई सहज रुपमा शिक्षामा पहुँच पुर्याउने उदेश्यले सो कार्यक्रम सम्पन्न भएको हो ।

हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी ‘कमल’ को अध्यक्षता एवं मधेश प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव महेन्द्र महतोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको आयोजक ब्रिटिस काउन्सिल र युनिसेफ रहेका हरिवन नगर शिक्षा अधिकृत रुस स्टालिन चौलागाईले बताएका छन् । बालिकालाई विद्यालय सम्म पुर्याउन, टिकाउन र सिकाउनमा केन्द्रीत रही बालिका शिक्षा रणनीति योजना तथा संजाल गठन कार्यक्रम गरिएको उनको भनाइ छ ।

कार्यक्रममा समावेशी, समतामुलक शिक्षाको आवश्यकता, रणनीतिक योजनाका साथै पालिका स्तरीय बालिका रणनीति योजना संजाल गठनको बारेमा एजुकेशन पेजेजका लवराज ओलीले प्रष्ट पार्दै कार्यक्रमको उदेश्य, महत्व र औचिव माथि प्रकास पारेका थिए ।

कार्यक्रममा नगरपालिकाकी उप प्रमुख हरिमाया घलान, प्रमुख प्रसासकिय अधिकृत देवेन्द्र सापकोटा, शिक्षा बिकाश तथा समन्वय ईकाई प्रमुख तारादेवी खट्का, नगर शिक्षा अधिकृत रुस स्टालिन चौलागाई, महिला तथा बालबालिका अधिकृत आशा खरेल ,स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरी, शिक्षकसम्बन्धी संघ संस्थाका प्रतिनिधि र संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख बुढाथोकीले समावेशी शिक्षा र बालिकाको शिक्षामा सहज पहुँचका लागि गरिएका प्रयासबारे अवगत गराएका थिए । सो अवसरमा उप प्रमुख संयोजक रहेको १५ सदस्यीय नगरपालिका बालिका समावेशी शिक्षा रणनीति संजाल समेत गठन गरिएको छ । यसको संरक्षक नगरप्रमुख रहने ब्यबस्था गरिएको छ भने सदस्यहरुमा प्रमुख प्रसासकिय अधिकृत, महिला तथा बालबालिका शाखा प्रमुख , स्वास्थ्य शाखा प्रमुख अपाङ्ग्ता भएका बालिकाका अभिभावक , वडा अध्यक्ष संचारकर्मी लगायत रहेने प्रावधान रहेको बताइएको छ ।