धेरै सहकारी फरार भएको बेला सर्लाहीमा महिला सहकारीको यस्तो सफलता

प्रेमनाथ पौडेल, सर्लाही । देशका कतिपय सहकारीले ताला झुण्ड्याएर बचतकर्तालाई रुवाइरहेका छन् । सर्लाहीको एक सहकारी संस्थाले भने बचतकर्तालाई ढुक्क मात्र बनाएको छैन, आफ्ना ४० जेष्ठ शेयर सदस्य आमाहरुलाई मिष्ठान भोजनसहित सम्मान गरेर खुशी समेत गराइरहेको छ ।

आमा प्रति श्रद्धा, भक्ति र प्रेमका साथ छोराछोरीले मनाउने मातातिर्थ औसीको पूर्व सन्ध्या पारेर लालबन्दी-१नवलपुर स्थित नन्देश्वर महिला तथा बचत ॠण सहकारी संस्थाले आफ्नो संस्थामा आवद्ध आमाहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

७० बर्ष पार गरेका ४० जना आमाहरुलाई शनिवार एक कार्यक्रम गरी मिष्ठान भोजन गराउनुको साथै साडीसमेत प्रदान गरिएको छ । बिगतका बर्षमा बृद्दाश्रम तथा मानव सेवा आश्रममा आश्रय लिएका हरुलाई भोजन र सम्मान गर्दै आएकामा यस बर्ष बाट भने आफ्नै संस्थामा आवद्ध ७० देखि ९५बर्ष सम्मका आमाहरुलाई समेत मिष्ठान्न भोजन, मनोरंजन र सामान प्रदान गरेको संस्थाकी सचिब सुनिता बुढाथोकीले बताइन ।

संस्थाले मिष्ठान भोजन र सारि पहिराएर नाचगान गर्दै आमाको सम्झनामा सम्मान पाउँदा आमाहरु निकै खुशी देखिएका संस्थाकी अध्यक्ष ओम कुमारी गौतमले जिकिर गरिन । संस्थाले आर्थिक बचत तथा ॠणको साथै सामाजिक क्रियाकलाप कार्यक्रम अन्तर्गत बिभिन्न सामाजिक गतिविधि गर्दै आए अनुरुप शेयर सदस्यहरुलाई सहकारी शिक्षा, आय आर्जन, जिबिकोपार्जन, क्षमता अभिबृद्दि, नेतृत्व बिकाशको साथै तिर्थाटन तिर्थ भ्रमण, सहकारी अबलोकन भ्रमणका साथै मातातिर्थ औसि ,कुसे औसि लगायतका समयमा जेष्ठ आमा बुबालाई मिष्ठान भोजन र सम्मान गर्दै आएको संस्थाकी व्यवस्थापक कबिता कार्कीले बताएकी छन् ।

कतिपय सहकारीहरु शेयर सदस्यको बचत फिर्ता गर्न नसकेर फरार भएको बेलामा महिलाकै आपसी साथ सहयोग अनि नेतृत्वमा संचालित नन्देश्वर महिला बचत तथा ॠण सहकारीले भने नगर र जिल्लामा मात्रै नभएर प्रदेश कै सहकारी बीच अब्बल रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।

२०५९ सालमा २६ जना महिला सदस्यको २ हजार ६ सय रुपैया शेयर पुजिबाट सहकारी डिभिजन कार्यालयमा दर्ता भै आर्थिक कारोबार सुरु गरेको यो सहकारीमा हाल २ हजार २ सय १७ शेयर सदस्य रहेका छन् भने १करोड २६ लाख भन्दा बढि शेयर पुजि पुर्याई सकेको छ । यसले बार्षिक ९ करोड भन्दा माथि कारोबार गर्न समेत सफल भएको बताइएको छ ।

Loading...