सिपाडोल बृहत खानेपानीमा पुन: लाखेमरुकै नेतृत्व

भक्तपुर । भक्तपुरको सिपाडोल बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समिति उपसमिति १ जगाती भक्तपुरको अध्यक्षमा पुनः तुल्सीनारायण लाखेमरु चुनिएका छन् । शनिबार भएको उपसमितिको १४ औ साधारणसभा तथा दोश्रो अधिवेशनबाट लाखेमरुकै अध्यक्षतामा १३ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो । लाखेमरु यसअघि पनि अध्यक्ष नै थिए ।

निर्वाचित नयाँं कार्यसमितिको उपाध्यक्षमा सिद्धिराम त्यात, सचिवमा शिवनारायण ग्वाछा, उपसचिवमा नवीन प्रजापति, कोषाध्यक्षमा आशकुमार मचामसी निर्वाचित भएका छन् । सदस्यहरुमा हरिकृष्ण खाइतू, इन्द्रभक्त सुवाल, सुमित्रा श्रेष्ठ र लक्ष्मीनारायण खायमली निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिको शनिबार नै भएको पहिलो बैठकबाट चार जना सदस्यहरु मनोनित गरिएको छ । मनोनित सदस्यहरुमा श्यामलाल श्रेष्ठ, सेतबहादुर तामांग, उमादेवी व्याञ्जू र सुमित्रा राजचल रहेका छन् ।

यसअघि साधारणसभाको उदघाटन वागमति प्रदेश सांसद किरण थापाले गरेका थिए । उक्त अवसरमा सांसद थापाले स्थानीयको सहयोग बिना बिकास सम्भव नहुने बताए । बिकास निर्माण र योजनामा स्थानीयले सक्रियतापूर्वक चासो राख्ने तथा अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।

भक्तपुरको सिपाडोल बृहत खानेपानीको विषयमा विविध कुरा राख्दै सांसद थापाले आफ्नो क्षेत्रका सबैलाई पानीको पहुँचमा पुर्याउन बागमती प्रदेश सरकार लाई ध्यानाकर्षण गराएको जानकारी गराए ।

कार्यक्रममा विशेष अतिथि सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पुप्पराज बस्नेत रहेका थिए । उपसमिति १ का अध्यक्ष तुल्सीनारायण लाखेमरुको सभापतित्वमा भएको कार्यक्रममा सचिव शिवनारायण ग्वाछा, कोषाध्यक्ष आशकुमार मचामसी, जिल्ला समन्वय समिति भक्तपुरका सदस्य विश्वराम त्वानाबासुलगायतका पदाधिकारीहरुले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Loading...