सोमबार बागमतीमा सार्वजनिक बिदा

बागमती प्रदेशभरी सोमबार सार्वजनिक बिदा दिइने भएको छ । बागमती प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी बैशाख २४ गते सोमबार बिदा दिने घोषणा गरेको हो ।

बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिदाबारे जानकारी समेत गराएको छ । प्रदेश सरकारले नेपाली भाषाका अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा बैशाख २४ गते सोमबारका दिन बिदा घोषणा गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठले बताएका छन् ।

वैशाख २४ गते बिहान ९ बजे काठमाडौंको बसन्तपुरबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र मूख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेशभर कामकाजी भाषाको रूपमा तामाङ र नेपाल भाषाको शुभारम्भ गर्ने कार्यक्रम रहेको बताइएको छ । यसलाई उत्सवकै रुपमा मनाउन सार्वजनिक बिदा दिइएको बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले बताएका छन् ।

सोही दिनबाट नै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्डमा तीन वटै भाषा नेपाली भाषा (देवनगरी लिपि), तामाङ भाषा (तामयिक लिपि ) र नेपाल भाषा (रन्जना लिपि)मा लेखिने बताइएको छ ।

Loading...