दुवाकोटको प्लाई कारखानामा आगलागी हुँदा २ घाइते, १ करोड ८० लाखको क्षती

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट मोड स्थित प्लाई कार्पेट कारखानामा आगलागी हुँदा २ जना घाइते भएका छन् भने १ करोड ८० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सन्तोष मान श्रेष्ठले संचालन गरेको ज्योति प्लाई कार्पेट कारखानामा गएराति करिब १२ बजे अचानक आगलागी भएको थियो । ७ वटा दमकलले करिब ४ घण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए ।

खबर प्राप्त हुन साथ तत्कालै ४ दर्जन प्रहरी र १ दर्जन शसस्त्र प्रहरी उद्धार र आगलागी नियन्त्रणमा खटिएका थिए । आगलागी नियन्त्रणमा लिएता पनि उक्त स्थानमा धुवाँ आईरहेकोले दमकल र स्काईभेटरको सहयोगमा थप आगो निभाउने कार्य गरिएको जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका एक अग्नि नियन्त्रकले जनाएका छन् ।

आगो निभाउने क्रममा जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नं. ६ घर भई हाल दुवाकोट बस्ने वर्ष २३ को बुद्व नारायण
श्रेष्ठ सामान्य घाईते भएका छन् । आगलागीमा परी भारत बंगाल घर भई उक्त कारखानामा काम गर्ने वर्ष २९ को मनु उर्वा गम्भिर घाईते भएकाले उनलाई थप उपचारको लागि राति नै किर्तीपुरस्थित बर्न अस्पतालमा लगिएको डिएसपी राजन कार्कीले जनाएका छन् । आगलागी बारे थप अनुसन्धान भैरहेको उनको भनाइ छ ।

Loading...