भोलि बाट भक्तपुरमा औद्योगिक सांस्कृतिक पर्यटन महोत्सव सुरु हुदै

भक्तपुर चैत्र २१ ।  ऎतिहासिक शहर भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा महोत्सव शुरु हुन २ दिन मात्र बाँकी रहेको छ । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव बिहीवार बाट शुरु हुने भएको हो ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव ११ दिनसम्म संचालन हुने आयोजकले जनाएको छ ।

नयाँ वर्ष २०८१ र विस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आयोजना हुने गरेको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् । बैशाख २ गतेसम्म महोत्सव आयोजना हुने र ३ गते नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष सांगीतिक कार्यक्रम हुने महतले बताए ।

“कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिव २ सय स्टल रहनेछ,” मेला आयोजक समितिका संयोजक दीपक थापाले भने । कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकारसहितका स्टल रहनेछ ।

महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरु रहने छन् । त्यसै क्रममा दैनिक राष्ट्रिय स्तरका कलाकारको उपस्थितिमा विभिन्न साँस्कृतिक कार्यक्रम समेत हुने आायोजकले जानकारी दिएको छ ।

ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्थीलाई रु ५० र सर्वसाधरणलाई भने रु. ७० को टिकट लाग्ने संयोजक दीपक थापाले बताए । करिब ५ लाखले महोत्सवको अवलोकन गर्ने आयोजकले बिश्वास व्यक्त गरेको छ ।

Loading...