पाकिस्तानी राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको यस्तो सन्देश

काठमाडौं । मित्र राष्ट्र पाकिस्तानको ८४ औँ राष्ट्रिय दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी राजदूतावासमा त्यहाँको राष्ट्रिय झण्डा फहराउने कार्यक्रमको आयोजना गरिएको छ । शनिवार आयोजित उक्त कार्यक्रममा राजदूत अबरार एच हाश्मीले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका छन् ।

सो अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको छ ।

आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले काइद-ए-आजम मुहम्मद अली जिन्नाको दूरदर्शी नेतृत्व र मुस्लिमहरूको लागि स्वतन्त्र राज्य प्राप्त गर्नका लागि पुर्खाहरूको बलिदानको स्मरण गरेका छन् । उनले विगतका उपलब्धिहरू प्रतिबिम्बित गर्नुका साथै काश्मिरी र प्यालेस्टिनी बन्धुहरु माथिको अधीनता र क्रूरता अन्त्यको लागि प्रार्थना पनि गरेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज शरीफले ‘पाकिस्तान दिवस’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका पाकिस्तानीहरूलाई बधाई दिएका छन्। उहाँले आफ्ना सन्देशहरूमा मुद्रास्फीति र आतंकवाद लगायतका चुनौतिहरूलाई पार गर्दै पाकिस्तानलाई शान्ति, प्रगति र स्थायित्वको उचाइ दिलाउने राष्ट्रको संकल्प व्यक्त गरे ।

विदेश मन्त्री मोहम्मद इशाक दारले प्रवासी पाकिस्तानीहरूलाई बधाई दिंदै र देशवासीहरूलाई आफ्नो छनौट क्षेत्र, पेशा र उद्यममा उत्कृष्टता जारी राख्न आग्रह गरे । नागरिकको सफलता, उपलब्धि र उत्कृष्टतामा नै देशको विकास र प्रगति निहित रहेको उनको भनाइ छ ।

समारोहमा आफ्नो मन्तव्य राख्दै राजदूत अबरार एच हाश्मीले सन् १९४० मा मुस्लिमहरूको दृढ संकल्पको स्मरण गर्दै पाकिस्तानलाई समृद्ध बनाउन संघर्षको निरन्तरताको कामना गरे। उनले अतिथिहरूलाई अभिवादन गर्दै नेपाल-पाकिस्तान सम्बन्धका मुख्य पक्षहरू र यो सम्बन्धलाई अझ मजबुत बनाउन गरिएका बिबिध प्रयासहरूबारे प्रकाश पारेका छन् ।

समारोहमा नेपालस्थित पाकिस्तानी समुदाय, पाकिस्तानका मित्र तथा दूतावासका अधिकारी र उनीहरुका परिवारको उपस्थिति रहेको दूतावासले जनाएको छ ।

Loading...