यस्तो बन्यो भक्तपुरको गौरवको योजना : २५ गते उद्घाटन

१२ औं शताब्दीमा बनेको भक्तपुरको भाज्या पोखरीको पुनर्निर्माण सम्पन्न गरिएको छ । लोप हुने अवस्थामा रहेको पोखरीलाई भक्तपुर नगरपालिकाले पुनर्जीवन दिएको हो ।

भक्तपुर नगरपालिका वडा नम्बर-१ दुधपाटीस्थित भक्तपुर क्याम्पससंगै जोडिएको भाज्या पुखु(भाज्या पोखरी) पुनर्निर्माणको काम सम्पन्न भएको वडासदस्य सूर्यप्रसाद श्रेष्ठले जनाएका छन् लक्ष्मीनारायण खत्रीको अध्यक्षतामा रहेको उपभोक्ता समितिले करिब ३ करोड लागतमा पुनर्निर्माण कार्य सम्पन्न गरेको वडा सदस्य श्रेष्ठले जनाएका हुन् ।

फागुन २५ गते शिवरात्रीको दिन यसको उद्घाटन गर्ने तयारी रहेको वडा नम्बर १ का वडाध्यक्ष श्याम कृष्ण खत्रीले जानकारी गराए । भाज्या पुखुको बीचमा जलेश्वरनाथ मन्दिर समेत पुनर्निमाण गरिएकोले नगरपालिकाले यसको उद्घाटनका लागि शिवरात्रीको दिन चुनेको हो । भग्नावशेषको रुपमा रहेको भाज्यापुखुको बीचमा माटोको थुम्को रहेपनि भक्तपुर नगरपालिकाले पुरात्वविदहरुको सहयोगमा अध्ययन गर्दा पोखरीको बीचमा जलेश्वर मन्दिर रहेको इतिहासका आधारमा मन्दिर पुनर्निर्माण गरिएको वडाध्यक्ष खत्रीले बताएका छन् ।

अध्ययन अनुसन्धानको जिम्मा पाएका प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले भाज्या पोखरीको अध्ययन–अनुसन्धानकै क्रममा पोखरीको मध्यभागमा पश्चिमाभिमुख शिखर शैलीको जलेश्वर मन्दिर भएको थाहा हुन आएको बताए । उनले भक्तपुर नपाले भाज्या पोखरीको जीर्णोद्धार एवम् जलेश्वर मन्दिरको पुनःनिर्माण मौलिक शैली र स्वरुपमा गर्नु प्रशंसनीय कार्य भएको बताए ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाकाले गरिरहेको सम्पदा संरक्षण कार्यले इतिहासको रक्षा हुनुका साथै भक्तपुरको आन्तरिक र बाह्य पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गरेका छन् । भाज्या पोखरी नगरपालिकाको गौरवको योजना भएको उनको भनाइ छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले फागुन २५ गते भाज्या पोखरी उद्घाटन गर्ने र यसको पुनःनिर्माणबारे प्रष्ट पार्ने पुस्तक बिमोचन गर्ने कार्यक्रम तय गरिएको नगरपालिकाले जनाएको छ ।

default
Loading...